स्थानीय तहमा गठबन्धनबारे आरजु राणा र प्रदेश सभापतिको फरक-फरक मत

सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने या नहुने अन्योल भइरहेको वेला काँग्रेसकै नेताहरुबाट फरक–फरक मत आइरहेका छन् । संस्थापन पक्षले सत्तारुढ दलबीच तालमेल गरेर जानुपर्ने कुरा उठाइरहे पनि शेखर कोइराला पक्षले सभापतिले एकलौटी यस्तो निर्णय गरे मान्य नहुने बताउँदै आएका छन् । 

बिहीबार मात्रै सुदूरपश्चिममा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले सत्तारुढ दलहरुसँग निर्वाचनमा गठबन्धन गरे जानुपर्ने धारणा व्यक्त गरिन् । बिहीबार धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनका राजनीतिक दल आगामी निर्वाचनमा पनि मिलेर जाने उनले दाबी गरिन् । ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । गृहकार्य पनि त्यही रुपले भइरहेको छ,’ उनले पत्रकार सम्मेलनमा भनिन् । 

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायत अन्य नेताले चुनावमा गठबन्धन नहुने बताइरहेका बेला देउवापत्नीले भने गठबन्धन हुने दाबी गरिन् । उक्त विषयमा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले भने आफ्नो आधिकारिक धारणा व्यक्त गरेका छैनन् ।

गत फागुन २९ गते नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा भएको कार्यक्रममा कुनै पनि हालतमा सुदूरपश्चिममा गठबन्धन नहुने बताएका थिए । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानका क्रममा डोटीको जोरायल पुगेर उनले स्थानीय तहको निर्वाचनमा अहिलेको पाँचदलीय सत्ता गठबन्धन नहुने जिकिर गरेका थिए । 

‘नेपाली कांग्रेसले बनाएको संविधान जोगाउन कांग्रेस एक्लैले प्रयास गर्छ,’ उनले भनेका थिए, ‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिह्नबाहेक अन्त भोट हाल्दैन ।’

उनले गठबन्धनका नाममा कांग्रेस कार्यकर्ता पेलिएको समेत बताएका थिए । आफूहरुमाथि अन्याय भएको भन्दै उनले चर्को स्वरमा भनेका थिए, ‘गाउँगाउँमा जानुहोस्, कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापहरूको भण्डाफोर गर्नुस् ।’ 



उक्त कडा अभिव्यक्तिपछि नेपाली कांग्रेसका धेरै कार्यकर्ताले नेता बलायरको खुलेरै प्रशंसा गरेका थिए । उनीहरुले अन्य ठाउँमा ५ दलीय गठबन्धन भए पनि सुदूरपश्चिममा भने नरहने अड्कल गरेका थिए । तर, आफ्नै पार्टीका प्रदेश सभापतिको धारणालाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले काटेकी छिन् । 

यसले गर्दा आसन्न वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनमा कांग्रेसले अन्य दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषय झन् पेचिलो बन्न पुगेको छ । 



कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसबारे पार्टीको केन्द्रीय समिति बैठकले छिट्टै निर्णय गर्ने बताउँदै आएका छन् । कांग्रस केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको छ । सो बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने र सोही धारणाका आधारमा निष्कर्षमा पुग्ने कांग्रेसको तयारी छ ।

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १८:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया