आन्दाेलनमा पूर्वलडाकु
समाजका लागि हिजाे बन्दुक बाेक्ने महिलाहरु आज न्याय माग्न वैसाखी टेक्दै सडकमा

काठमाडौं– ‘महिलाले बन्दुक छोए पड्किँदैन’ भन्ने भनाइलार्ई असत्य साबित गर्न सफल तत्कालीन माओवादी लडाकु महिला अहिले काठमाडौंमा आन्दोलनरत छन् । जनयुद्धकालमा  बन्दुक पड्काएकी एक पूर्वमाओवादी लडाकु पार्वती पुन ‘जलजला’ अहिले काठमाडौंमा छिन् । 

विभिन्न पाँच बुँदे मागसहित आन्दोलनरत पूर्वमाओवादी लडाकुको आन्दोलनमा सहभागी हुन उनी काठमाडौं आएकी हुन् ।

पुस ५ गते शान्तिवाटिकामा भेटिएकी पुन मंसिर २७ गते आमरण अनशनमा बसेका माओवादी पूर्वलडाकुको आन्दोलनमा सहभागी हुन आएकी हुन् । जाजरकोटकी पुन विसं २०५६ सालमा माओवादीको स्थानीय संगठनमा प्रवेश गरेकी हुन् । 

पुन औपचारिक रूपमा जनमुक्ति सेनामा २०५८ सालमा प्रवेश गरेको बताउँछिन् । थोमस ए मार्कस्ले गरेको एक अध्ययनमा माओवादी जनयुद्धमा प्रवेश गर्ने धेरैजसो महिलालाई स्थानीय तहबाट प्रशिक्षित गराउँदै जनमुक्ति सेनामा भर्ती गरिन्थ्यो ।

माओवादी जनयुद्ध चरम उत्कर्षमा पुगेको समयमा  २०५८ देखि २०६१ सम्मका अधिकांश लडाइँमा सहभागी भएको बताउने पुन भन्छिन्, ‘लडाइँको त हिसाबै छैन ।’ जनयुद्ध र जनआन्दोलनका घाइतेलाई सरकारले उपचार खर्च दिनुपर्ने र उनीहरूको जीवन निर्वाहका लागि सरकारले व्यवस्था गनुपर्ने मागसहित काठमाडौंमा अहिले पूर्वमाओवादी लडाकु आन्दोलनरत छन् ।

माओवादी जनयुद्धको अन्त्यसम्म आइपुग्दा जनमुक्ति सेनामा २० देखि ४० प्रतिशत महिला रहेको बताइन्छ ।



पुन पनि माओवादी जनयुद्धमा घाइते भएकी हुन् । २०६० को म्याग्दीको सदरमुकाम बेनी आक्रमणमा उनको टाउको र खुट्टामा गोली लागेको थियो । त्यस्तै, २०६१ सालमा दैलेखको नौमुले भिडन्तमा उनको पेटमा गोली लागेको थियो ।

अहिले पनि पुनको पेटमा गोलीको छर्रा बाँकी छ । ३४ वर्षीय पुन १७ वर्षको उमेरमा नै माओवादी जनमुक्ति सेनामा भर्ना भएकी थिइन् । मार्कस्को अध्ययनले पनि माओवादी जनयुद्धमा सहभागी भएकामध्ये करिब ९१ प्रतिशत महिला १९ वर्षमुनिका रहेको देखाउँछ । यति मात्रै होइन, यसरी सानै उमेरमा जनमुक्ति सेनामा भर्ना हुने महिला लडाकुमध्ये धेरैले निम्नमाध्यमिक तहसम्मको मात्रै अध्ययन गरेका थिए । पुनले पनि कक्षा ७ सम्म मात्रै अध्ययन गरेकी छिन् । 



अनौपचारिक अध्ययन केन्द्र इन्सेकको एक अध्ययनअनुसार पनि १० वर्षे जनयुद्धमा निम्नमाध्यामिक तहसम्म अध्ययन गरेका ३ हजारभन्दा धेरै मानिस प्रभावित भएको देखिन्छ । पुनको जिल्ला जाजरकोटबाट मात्रै करिब ५ सयजना सर्वसाधरण द्वन्द्व प्रभावित भएको इन्सेकको तथ्यांकले देखाउँछ ।

दीपक सापकोटाको ‘उथलपुथलका दश वर्ष’ किताबमा पनि माओवादी जनयुद्धमा संलग्न अधिकांश महिला किशोरी भएको उल्लेख छ । यस्तै, जनयुद्धका क्रममा मरेका महिलाहरूको जीवनी समेटेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले २०६२ मा प्रकाशन गरेको ‘महिला सहिद गाथा’ पुस्तकमा पनि जनयुद्धमा मरेका अधिकांश महिला १८ देखि २५ वर्ष उमेरका थिए ।

माओवादी जनयुद्धमा देखिएको महिला सक्रियताकै कारण अहिले महिला अधिकार धेरै हदसम्म सुरक्षित भए पनि, महिलालाई आफ्ना अधिकार प्राप्तिका लागि उत्प्रेरित गर्ने महिला लडाकु भने अधिकारका लागि सडकमा छन् । जनयुद्धको रवाफमा छोरीलाई पनि छोरासरह पैतृक सम्पत्तिमा अधिकार दिलाउन सक्षम महिला माओवादीको प्रयासले नै अहिले संविधानले महिलालाई पनि पैतृक सम्पत्तिमा छोरासरह अधिकार दिएको हो भन्नेमा धेरैको एकमत छ ।

यति हुँदाहुँदै पनि जनयुद्धमा सामेल महिला अहिले समाजमा हेलाको पात्र बनेको बताउँछिन्, पुन । महिला अधिकारका मुद्दा उठाउनेको नै आवाज सुन्न छाडिएको भन्दै पुन भन्छिन्, ‘हामीले गर्दा नै आज महिला यसरी बोल्न पाएका छन् । हामीले नै महिलालाई बोल्न सिकायौँ तर, दुर्भाग्य अहिले हाम्रै आवाज सुन्न छाडिएको छ ।’

जनयुद्धकालमै बिहे गरेकी पुनको पेटमा गोली लागेपछि उनी गर्भधारण गर्न नसक्ने भइन् । पुनले गर्भधारण गर्न नसक्ने देखिएपछि उनको श्रीमान्सँग सम्बन्धविच्छेद भयो । पेटमा गोलीको छर्रा लागेपछि उनले पहिलोपटक भारतको लखनउ गएर अप्रेसन गरिन् । त्यही अप्रेसनमा उनको पाठेघर पनि निकाल्नुपर्यो । बच्चा जन्माउन नसक्ने भएपछि श्रीमान्ले छाडेको उनले बताइन् ।

महिलाका बारेमा समाजमा विद्यमान संकीर्ण सोचका बाबजुद पनि जनयुद्धमा ठूलो संख्यामा महिला सहभागी भएका थिए । जनयुद्धमा सहभागी भएका पुरुषको तुलनामा महिलालाई समाजमा समायोजन हुन अझ धेरै कठिन भइरहेको छ । 

शारीरिक रूपमा अपांग भएका महिलाहरूले अझै पनि घरजम गर्न पाएका छैनन् भने अर्कोतिर अपागंताकै कारण काम गर्न नसक्दा महिलाले दोहोरो मार झेल्नुपरेको छ । 

४ कक्षासम्म औपचारिक अध्ययन पूरा गरेकी दैलेखकी दिलमाया बुढामगर पनि अहिले काठमाडौंमा छिन् । २०५९ सालमा माओवादी जनमुक्ति सेनामा प्रवेश गरेकी बुढाको टाउकोमा गोलीको छर्रा छ भने दायाँ हात चल्दैन । ३१ वर्ष पुगेको बताउने बुढामगर १५ वर्षको उमेरमै जनयुद्धमा सामेल भएकी थिइन् ।

२०५६ को वैशाखमा रोल्पाको जेलवाङ आक्रमणमा ६ जना महिला संलग्न थिए । त्यही वर्ष रुकुमको तकसेरमा आक्रमणमा २१ जना थिए । २०५८ मा देशभरका छापामार प्रतिनिधिको भेलाले जनमुक्ति सेना गठन गर्दा त्यसमा २० प्रतिशत महिला थिए । माओवादी जनयुद्धकालमा महिलाको संख्या बढ्दै गएपछि महिलाकै मात्र गुरिल्ला युनिट गठन गर्ने प्रयास पनि भएको थियो । 

स्थानीय तहको कार्यकर्ता हुँदै जनमुक्ति सेनामा प्रवेश गर्ने धेरैजसो महिला आफूले समाजमा देखिरहेको र भोगिरहेको विभेद निर्मूल पार्न भन्दै जनयुद्धमा सामेल भएका थिए । 

जनयुद्धमा सामेल भएका धेरैजसो महिला कर्णाली क्षेत्रकै छन् । त्यसै पनि मूलधारबाट पछाडि पारिएको कर्णाली क्षेत्रमा महिलाको अवस्था झनै दयनीय थियो र अहिले पनि छ । जनयुद्धमा महिलाको सक्रियताले तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका रुकुम र रोल्पामा सशस्त्र विद्रोह चाँडै फैलिएको निष्कर्ष निकालेका छन्, मार्कस्ले । भिनाजु, भाउजू र भाइलाई तत्कालीन नेपाली सेनाले मारेपछि आफू माओवादी जनयुद्धमा प्रत्यक्ष संलग्न भएको बताउँछिन्, पुन ।

माओवादी जनयुद्धको समयमा पुरुष र महिलाको शारीरिक भिन्नतालाई निकै कम आँकिएको थियो । महिला लडाकुहरू महिनावारी र गर्भवती हुँदा पनि उनीहरूलाई विशेष सुविधा दिने चलन थिएन । महिला सेनाहरू गर्भवती हुँदा पनि युद्धमा भाग लिन बाध्य भएका थुप्रै उदाहरण छन् । 

अनशनमै रहेका कालिकोटका पूर्वलडाकु मन दर्जीले फरकधारसँगको कुराकानीमा भनेका थिए, ‘हामी श्रीमान–श्रीमती नै युद्धमा थियौँ, त्यही समयमा उपचार नपाएर मेरो छोरो मर्यो ।’  

विसं १९९८–९९ तिर योगमायाले सुरु गरेको महिला विद्रोह त्यसपछिका राजनीतिक परिवर्तनमा पनि क्रमशः देखियो । तर, पनि माओवादीले सुदूर नेपालबाट सुरु गरेको जनयुद्धमा आजसम्मको नेपाली इतिहासमै सबैभन्दा धेरै महिला सहभागी रहेको कुरामा धेरैको एकमत छ । 

जनयुद्धमा महिला सहभागिता उल्लेख्य रह्यो । तर, आज तिनै महिला लडाकु आफूलाई प्रयोग गरिएको बताउँछन् । पुन भन्छिन्, ‘हाम्रै काँधमा टेकेर नेताहरू यहाँसम्म पुगे । तर, अवस्था कस्तो आयो भने हामीले नै वैशाखी टेक्नुपर्यो ।’

राज्यसत्ता पल्टाउन सक्ने योद्धाहरू अहिले असहाय भएर सडकमा आउनुपर्ने अवस्थाका एउटा कारण नेतृत्व पंक्तिमा महिलाको सहभागिता नहुनुलाई अभिशाप बताउँदै दीपक सापकोटा आफ्नो किताब उथलपुथलका दश वर्षमा लेख्छन्, ‘जनयुद्धमा सहभागी महिलाको संख्या अनुपातमा नेतृत्वमा महिला नपुग्नु जनयुद्धको ठूलो अभिशाप हो ।’

माओवादी जनयुद्धमा महिला सहभागिता शीर्षकको आलेखमा थोमस ए मार्कसले म्याक्स वेबरको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘आर्थिक अवस्था मानिसको ‘स्थान’ निर्धारणमा महत्वपूर्ण छ भन्ने मार्कसको भनाइ सय प्रतिशत नै सही छ । तर, राजनीति र स्ट्याटसले पनि मानिसको अवस्था निर्धारण गर्छन् । मानिसको अवस्थालाई प्रभाव पार्ने तीनमध्ये दुई वास्तविकतामा मार्कसले ध्यान दिन सकेनन् ।’ 

माओवादी सशस्त्र संघर्षमा संलग्न महिलाकै शब्दमा भन्नुपर्दा उनीहरूले गुमाएको अनुभव गरेको सबैभन्दा महत्वपूर्ण कुरा ‘शिक्षा’ थियो । हो, शिक्षाले वेबरले भनेजस्तै मान्छेको ‘स्ट्याटस’ (स्थान) निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।  
 

  • प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार १५:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया