नेपाली कांग्रेस परनिर्भर पार्टी होइन, एक्लै चुनाव लड्छ : बलायर

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने बताएका छन् । चुनावी अभियानको क्रममा बैतडी पुगेका बलायरले आइतबार बैतडीमा कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस एक्लैले चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।

केन्द्रीय सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा देखिए पनि उनीनिकटकै प्रदेश सभापति बलायरले भने गठबन्धन गर्ने कुराको खुलेरै विरोध गर्दै आएका छन् । उनी अन्य प्रदेशमा जे भए पनि सुदूरपश्चिममा नेपाली कांग्रेस एक्लै चुनावमा जाने बताउँदै आएका छन् ।

‘लोकतन्त्र बचाउन कांग्रेसलाई भोट दिनुपर्ने हुन्छ । कांग्रेस देश र जनताको विकासका लागि एक्लै चुनावी मैदानमा जान्छ । कसैको सहारामा बाच्ने परनिर्भरता भएको पार्टी नेपाली कांग्रेस होइन,’ नेता बलायरले भने, ‘नेपाली कांग्रेसले देशभर नै एक्लै चुनावमा जानुपर्छ । अन्य ठाउँमा गठबन्धन भए पनि सुदूरपश्चिममा गठबन्धन हुँदैन । दुईतिहाइ नजिकको मत पाएकाहरुले आफ्नै पार्टी त जोगाउन सकेनन् भने कांग्रेसलाई सहयोग गर्छन् भन्ने के आधार छ ?’

बैतडीको पाटनमा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति बलायरले कांग्रेसले जिते मात्रै लोकतन्त्रको जित हुने बताए । उनले भने, ‘देशमा लोकतान्त्रिक शक्ति भनेको कांग्रेस नै हो । त्यसैले आममतदातालाई कांग्रेसमा भोट हाल्न आग्रह गर्दछु । कांग्रेसले हारेमा फेरि जनताको सपना र देशको स्वाभिमानले नै हार्नेछ ।’ 

कांग्रेसलाई जिताउन उनले सबै मतदाता र कार्यकर्ताहरुलाई दिनरात नभनी लाग्न पनि उनले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार २०:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया