मारिओपोलका हजारौं सर्वसाधारणलाई रुस लगेकाे युक्रेनकाे आराेप

युद्धबाट ध्वस्तजस्तै बनेको मारिओपोलका हजारौं सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनले आरोप लगाएको छ । 

युक्रेनी बन्दरगाह सहर मारिओपाेलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ । रसियाले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बीरहरूमा देखिएको छ ।

युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छिन् । 

अहिले रुसमा रहेका मारिओपोलका एक शरणार्थीले भने, ‘हामी सबैलाई बलजफत नियन्त्रणमा लिइयो ।’ 

केही युक्रेनी अधिकारीहरूले रुसका कार्यहरूलाई चेचेनहरुलाई ‘फिल्ट्रेसन क्याम्प’मा ‘निर्वासन’ गरिएको घटनासँग तुलना गरेका छन् । 

चेचेन्यामा रुसी युद्धमा हजारौं चेचनलाई अस्थायी शिविरमा लगेर सोधपुछ गरिएको र उनीहरूमध्ये धेरै बेपत्ता भएका थिए । 



सर्वसाधारणहरूलाई आफ्नो क्षेत्रमा निर्वासन गर्नु यो युद्धरत पक्षका लागि मानवअधिकार दुरुपयोग हो । 

रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ।



तीन सातादेखि जारी रुसी गोलाबारीले सहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय बेसमेन्ट र बंकरमा लुकेका छन् । पिउने पानी, खाना र औषधिको चरम अभाव छ । 

मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ । 

तुलनात्मक रूपमा मारिओपोलका थोरै नागरिक दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।

  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १०:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया