सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन, प्रचण्ड ‘डरपोक’ नेता : बलायर

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ। उनले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत रहेकाले सरकारमा आफूहरू अटाउन नसकेको उनले बताए। 

‘हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनुपर्थ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’

सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। ‘उहाँहरू र हाम्रो आवश्यकता भएको ठाउँमा मात्र गठबन्धन हुन्छ। चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म छलफल वा वार्ता केही हुन सकेको छैन। गठबन्धन गरौं भनेर हामी कसको दैलोमा जाने ? त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं,’ उनले भने। 

संस्थापनइतर पक्षका नेता हरिप्रसाद भट्टले अमरगढी नगरपालिकाको प्रमुखमा दिएको उम्मेदवारीको विषयमा बोल्दै उनले कांग्रेसको माध्यमबाट उम्मेदवारीको चाहना आउनुपर्ने बताए। केही दिनभित्र डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग कुराकानी गरेर उनको चाहना के हो र के चाहन्छन् भनेर पार्टीले छलफल गर्ने उनी बताउँछन्। 

प्रचण्ड ‘डरपोक’ नेता



बलायरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकाले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए। ‘प्रचण्ड र माधवजीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं। कांग्रेस बलियो भयो भने नेपालमा कम्युनिस्ट एक हुने चलन हो,’ उनले भने ।

नेपालको राजनीति ध्रुवीकरण हुनुपर्ने र एउटा कम्युनिस्ट र एउटा कांग्रेसको मोर्चा हुनुपर्नेमा उनले जोड दिए। कांग्रेसले मजबुत बनाएको देशको ढुकुटी कम्युनिस्टले रित्याएको बताउँदै उनले देशलाई तहसनहस बनाएको आरोप लगाए। 



  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १७:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया