नेपाली कांग्रेसभित्र स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद छ । सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायत शीर्ष नेता गठबन्धनको पक्षमा छन् । तर, १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला भने चुनावमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने कुरामा जोड दिइरहेका छन् ।
कोइराला समूहभित्रै पनि गठबन्धनको विषयमा दुईथरी धारणा आइरहेका छन् । कोइरालाले गठबन्धनलाई ठाडै अस्वीकार गर्दै विपक्षमा उभिने जनाए पनि उनकै समूहबाट विजयी भएका महामन्त्री गगनकुमार थापाले भने पार्टीले निर्णयको विपक्षमा नउभिने मत प्रकट गरेका छन् ।
‘शेखर र गगन दुवै नेताले गठबन्धनको विपक्षमा धारणा राख्नु भएको छ, दुवैको मत कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने नै छ,’ केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘शेखर दाइ गठबन्धन गर्ने निर्णय गरे आफू विपक्षमा उभिने प्रस्ट पार्नु भएको छ भने गगनजीले पार्टीले गठबन्धनमा जाने निर्णय गरेमा असहमतिका बाबजुद पनि पार्टी निर्णय मान्छु भन्नु भएको छ ।’
उनका अनुसार गठबन्धनको विपक्षमा भन्दा पनि अधिकांश सदस्य पक्षमा उभिएका छन् तर त्यसका लागि केन्द्रबाट स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने तर्क बैठकमा प्रस्तुत भएका छन् ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम सकिएको छ । आज अपरान्ह ३ बजे बस्ने बैठकमा संसदीय बोर्ड, स्थानीय तह चुनावी घोषणा पत्र लेखन समितिलाई पूर्णता दिने विषयमा कांग्रेसले औपचारिक निर्णय गर्ने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।