[स्थानीय निर्वाचन] पोखरा महानगरपालिका : बलियो एमाले, गठबन्धनकै भरमा कांग्रेस-माओवादी

देशभर स्थानीय तहको चुनावको रौनक बढेको छ । शीर्ष नेता मात्र होइन टोलमा कार्यकर्ताहरू पनि चुनावी अभियानमा होमिसकेका छन् । केन्द्रमा पनि दलहरूबीच चुनावी रणनीतिक योजना बनाउन व्यस्त छन् । 

३० वैशाखमा हुने निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर हुने आँकलन गरिएको छ । यद्यपि, कांग्रेसका केही नेताहरूले अहिले पनि आफ्नो पार्टी एक्लै निर्वाचनमा जान ‘सक्षम’ रहेको पनि अभिव्यक्ति दिइरहेका छन् । 

कांग्रेसको संस्थापन इतर समूहले स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने भनेर सार्वजनिक रूपमै बोलिरहेको बेलामा सभापति एवम् प्रधानमन्त्री देउवाले भने भागबण्डाको सहमतिबारे गृहकार्य थालेका छन् । यसैबीच, देशभरका ६ महानगरपालिकामध्ये चासोको केन्द्रमा रहेन महानगर हो– पोखरा महानगरपालिका । त्यतिबेला चुनावी घोषणापत्रमा पोखरालाई स्मार्ट सिटी बनाउने विषयले चर्चा कमाएको थियो । 

निर्वाचन आयोगका अनुसार पोखरा महानगरपालिका दोस्रो धेरै मतदाता भएको स्थानीय तह हो । जहाँ २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । 

२०७४ मा गठबन्धन हुँदा पनि एमाले विजयी

०७४ सालको चुनावमा पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार मानबहादुर जिसी विजयी भएका थिए । यो महानगरमा रहेका ३३ मध्ये २२ वडाध्यक्षमा र उपमेयरसमेत एमालेले नै जित्यो । त्यतिबेला यो महानगरमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 



गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रले सघाएको थियो । यसका बाबजुद एमालेबाट मेयरका उम्मेदवार बनेका जिसीले ६० हजार १ सय १८ मत प्राप्त गरे । गठबन्धनबाट कांग्रेसका रामजी कुँवर उम्मेदवार थिए । गठबन्धनका उम्मेदवार भएर पनि उनले ४६ हजार ४ सय १६ मत मात्र पाए । 

संघीय समाजवादी फोरमबाट मेयरको उम्मेदवार बनेका हुमबहादुर गुरुङले ३ हजार १ सय ७० पाए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी गीता गुरुङले २ हजार २ सय ७२ मत प्राप्त गरेकी थिइन् । 



उपमेयरमा गठबन्धन नै भएन कार्यान्वयन  

अघिल्लो स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको उपमेयरमा पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । तर, उपमेयरमा भने माओवादी र कांग्रेस दुवैले उम्मेदवार तय गरे ।  

त्यहाँ एमालेले मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको थियो । उनी ५६ हजार ४ सय ४८ मतका साथ विजयी भइन् । कांग्रेसबाट उपयमेरकी उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरिन् । 

त्यस्तै, माओवादी केन्द्रबाट उम्मेदवार बनेकी गोमा ढकालले ८ हजार ७ सय ९६ मत मात्र पाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका रमेशबहादुर खत्रीले २ हजार ८ सय ४० मत प्राप्त गरेका थिए ।  

बलियो एमाले, गठबन्धनकै भरमा कांग्रेस–माओवादी !

कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि ०७४ सालमा एमालेका उम्मेदवारले भारी मतान्तरसहित जित दर्ता गरेका थिए । त्यतिबेला चुनावी तालमेल भए पनि उपमेयरमा कांग्रेसले उम्मेदवार खडा गरेपछि माहोल बिग्रियो । यसपटक मेयरमा कांग्रेसले दाबी गरिरहेको छ । माओवादीले पनि कांग्रेसको चाहना पूरा गर्न उपमेयरमै चित्त बुझाउने सम्भावना छ । 

तर, पोखरामा एमाले कमजोर छैन । उसले एक्लै निर्वाचनमा भाग लिने भनेर तयारी अघि बढाइरहँदा पोखरा महानगरमा पनि त्यसै अनुरूप तयारी अघि बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै पोखरा पुगेर गत फागुनमा चुनावी कार्यक्रममा सरिक भएका थिए । 

हुन त एमाले र माओवादी विभाजित हुँदा त्यसको असर पोखरामा पनि देखिएको छ । साथै, एमालेबाट छुट्टिएको एकीकृत समाजवादीका कारण पोखरामा एमालेले विगत निर्वाचनको जस्तो साथ नपाउन सक्छ ।   

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १२:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया