बझाङ पुगेर कांग्रेस सुदूरपश्चिम सभापति बलायरले फेरे बोली

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बोली फेरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कुनै पनि दलसँग गठबन्धन हुन नसक्ने बताउँदै आएका बलायरले आज बझाङको खप्तड छान्ना गाउँपालिकामा भएको कार्यक्रममा आवश्यकताअनुसार गठबन्धन हुने बताएका हुन् ।

सुदूरपश्चिमको दौडाहमा रहेका बलायर खप्तडछान्ना गाउँकार्य समितिले आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै कांग्रेसले जित्ने ठाउँमा गठबन्धन नहुने तर कांग्रेस कमजोर भएको ठाउँमा गठबन्धन गर्ने बताए ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्लामा पुगेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पदलोभी र अवसरवादीको संज्ञा दिएका बलायर पार्टीको केन्द्रीय समितिको बैठकले आवश्यकता हेरेर गठबन्धन गर्ने निर्णय गरेपछि आफ्नो अडानबाट पछि हटेका हुन् ।

कांग्रेसलाई स्थापित गर्नका लागि खप्तडछान्ना गाउँपालिकाको ठूलो भूमिका रहेको पनि उनले बताए । उनले कांग्रेसले फेरि पनि स्थानीयको मन जितेर स्थानीय तहमा जित हासिल पार्नुपर्ने बताए ।

उनले भने, ‘देशले नेपाली कांग्रेसको आवश्यकता महशुस गरेको छ । त्यस कारण फेरि पनि देश कम्युनिस्टको हातमा परेको खण्डमा स्वाधिनता, अखण्डता समाप्त भएर जान्छ । अब कांग्रेसले नेपाली जनतालाई आफ्ना एजेन्डालाई प्रष्ट रूपमा जनतासमक्ष लिएर जानुपर्छ । केन्द्रीय कार्यसमितिले नै गठबन्धन गर्ने निर्णय गरेपछि सुदूरपश्चिमा नहुने भन्ने छैन ।’



यसअघि उनले आफ्नै पार्टीका सभापतिको भनाइलाई काउन्टर दिँदै कांग्रेस अरूको आशामा बाँच्ने परनिर्भर पार्टी नभएको भन्दै गठबन्धन आवश्यक नभएको बताएका थिए ।

उनले कार्यक्रममा नक्कली कम्युनिस्टहरूले एमसिसी सम्झौतालाई हतियार बनाएर कांग्रेसविरुद्ध हल्ला फैलाएको आरोप लगाए ।



‘पछिल्लो समय जनतालाई केही नक्कली कम्युनिस्टहरूले एमसिसीलाई हतियार बनाएर नेपाली कांग्रेसविरुद्ध हल्ला फैलाउँदै गएका कारण एमसिसीका बारेमा जनतालाई यथार्थ कुरा जानकारी गराउनु पर्ने छ,’ नेता बलायरले भने ‘एमसिसी एक विकास परियोजना हो । यसले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ । नेपाली कांग्रेसले कहिलै पनि राष्ट्रको हितविपरीत कुनै पनि काम गर्दैन ।’

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसका हरेक नेता कार्यकर्तालाई एक दत्तचित्त भएर पार्टीको चुनावी अभियानमा लाग्न पनि निर्देशन दिए ।

‘कम्युनिस्टको हो-हल्लाले फेरि जनता यता र उता हुन सक्छन् । त्यस कारण जनतालाई सम्झाउन सक्नु नै सबैभन्दा ठूलो सफलता हाम्रो लागि हुनेछ,’ नेता बलायरले भने ।

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १९:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया