श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमण प्रयास, कोलम्बोमा कर्फ्यू लागू

श्रीलंकामा विगत केही सातादेखि आर्थिक संकट गहिरिँदै गएको छ । यहाँ खाद्यान्न र अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ । यस्तो अवस्थामा जनताको विरोध बढ्दै गएको छ । यसैबीच, बिहीबार राति राष्ट्रपति गोटाभाया राजापाक्षेको निवासबाहिर हजारौं मानिसले विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट सिर्जना भएको भन्दै राष्ट्रपति भवनमा आक्रमण प्रयास भएको हो । लाखौं नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौं प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए । यस क्रममा भएको झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् ।

प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यू जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीसँगको झडपमा एक जना गम्भीर घाइते भएको र कयौं मानिस पक्राउ परेका समाचारमा जनाइएको छ ।

निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा थिएनन् । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । वरपरका घरका पर्खालसमेत ढालिदिएका छन् । 

आन्दोलनकारीको प्रहरीसँग झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न खोज्दा झडप सुरु भएको हो । प्रदर्शनकारीहरूले प्रहरीलाई पनि ढुंगा हान्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति नियन्त्रणमा लिनका लागि टास्क फोर्सलाई बोलाइएको बताइएको छ । 

आर्थिक संकटका कारण देशमा इन्धन र ग्यासको अभाव छ । पेट्रोल र डिजेलका लागि मानिसहरू घण्टौँ लाइनमा बाध्य भएका छन् । कागज र मसीसमेत नभएर शैक्षिक बोर्डले परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । डिजेल नहुँदा यातायातसमेत ठप्प भएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ८:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया