प्रदेश सरकारको टुक्रे योजनाले जनप्रतिनिधि र कार्यकर्ताबीच विवाद

बागमती प्रदेश सरकारले छुट्याएको २३ सयभन्दा धेरै टुक्रे योजनाले मारमा परेको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन् । गठबन्धनबाट बनेको सरकारले ल्याएको योजना आफ्नो पार्टीका मान्छेले मात्रै पाउनुपर्छ भनेर गठबन्धन बाहिरका जनप्रतिनिधिलाई दबाब आउन थालेको भन्दै उनीहरूले गुनासो गरेका हुन् । 

वडामा आएका योजना सरकारमा रहेका दलका नेताहरूले पाउनुपर्ने भन्दै सत्तासीन दलका कार्यकर्ताले माग पनि गरिरहेका छन् । साथै, स्थानीय तहको निर्वाचन नजिकिएपछि योजनाको विषयमा जनप्रतिनिधि र पार्टी/कार्यकताबीचको विवाद भएका घटना पनि बाहिर आइरहेका छन् । 

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका–८ मा केही दिनअघि अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी सडकमा ल्याएर विरोध भएको थियो । त्यस्तै, उनको कार्यकक्षमा समेत तोडफोड भयो । त्यसको एक साता नबित्दै हेटौंडा उपमहानगरपालिका–१४ को वडा कार्यालयमा पनि आक्रमणको प्रयास भयो । 

कार्यालयमा आक्रमणको प्रयास भएपछि वडाध्यक्ष दीपक खड्कालाई अहिले जोगिएरै हिँड्न गाह्रो भइरहेको छ । त्यसो त खड्कामाथि वडामा परेका योजना कार्यान्वयन गराउन आफूखुसी उपभोक्ता समिति बनाएको स्थानीयले आरोप छ । बागमती सरकारले केही समयअघि मात्रै स्वीकृत गरेको बजेट कार्यान्वयन गर्न लाभग्राही उपभोक्तासँग छलफल नै नगरी सीमित मानिसलाई भेला गरेर समिति बनाएको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका थिए ।

टोलभन्दा बाहिरको व्यक्तिको नाम राखेर समिति गठन गरिएको र उनीहरूको उपस्थितिबिना नै निर्णय गरी पठाइएको नेपाली कांग्रेस हेटौंडा–१४ का वडा सभापति मनोज थिङको आरोप छ । ‘प्रदेश सरकारले हालेको बजेट कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले टोलभन्दा बाहिरको मानिसको नाम आफूखुसी राखेर पठाएको पाइयो । छलफल र भेलाबिनै उपभोक्ता समिति गठन गर्नु अवैधानिक काम हो । यो सच्याउनुपर्छ,’ वडा सभापति थिङले भने ।

स्थानीयका अनुसार वडाध्यक्ष खड्काले प्रदेशबाट आएका ६ वटा योजना कार्यान्वयन गराउन उपभोक्ता समिति गठन गरी कार्यान्वयनको लागि सिफारिस गरिसकेका छन् । प्रदेश सरकारको २३ सय भन्दा बढी टुक्रे योजनाले स्थानीय तहहरूमा अराजकता मौलाएको स्थानीयको गुनासो छ ।



जनप्रतिनिधिहरू भने आफूहरूको राम्रो काम देख्न नसकेर विपक्षीहरूले दुःख दिने काम मात्र गरेको दाबी गर्छन् । ‘निर्वाचन नजिकिएकाले आफूले गरेको विकास निर्माणको काम देखेर पराजित मानसिकता बोकेर गठबन्धनका कार्यकर्ताहरू वडा कार्यलय घेराउ गर्न आएका हुन्,’ वडाध्यक्ष खड्काले भने ।

उनले अगाडि भने, ‘वडामा प्रदेश सरकारले ५ लाखको दरले ५ वटा टुक्रे योजना छरेको छ । गठबन्धनका कार्यकर्ताहरू हामीले हाल्न लगाएको बजेट हो, हाम्रो सरकार हो भन्दै यहाँ साइन गर्न भन्दै वडा कार्यालयमा तालाबन्दी गर्ने उद्देश्यले नारा जुलुस लगाउँदै कार्यालय घेराउ गर्न आए । तालाबन्दी गर्नका लागि ताल्चा लिएरसमेत आएका थिए, तर हामीले रोक्याैँ ।’ 



  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १५:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया