८ वर्षपछि पुन: जयनगर-जनकपुरधाम-कुर्था रेल सञ्चालनमा आएपछि स्थानीय उत्साहित (तस्बिर)

आजदेखि जयनगर–जनकपुरधाम–कुर्था रेल सञ्चालनमा आएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै रेल सेवा सञ्चालनमा आएको हो । 

प्रधानमन्त्रीद्वयले उद्घाटन गरेसँगै दिउँसो करिव १ बजे जयनगरबाट प्रस्थान गरेको रेल्वे २ घण्टापश्चात जनकपुरधाम पुग्यो । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटरसम्म चल्ने रेल्वे साढे ३ बजे जनकपुरधाम पुगेको थियो ।  

रेल्वे उद्घाटनपश्चात् प्रत्येक स्टेसनमा नागरिक अभिनन्दनका लागि रेल रोकिएको थियो । अभिनन्दनका लागि हरेक स्टेसनमा छात्र–छात्राहरू नेपाल र भारतको झण्डासहित रेल्वेमा आएका थिए । कुर्थासम्म पुगेर फर्केपछि जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

शनिबार उद्घाटन भएपछि आइतबारदेखि दैनिक रूपमा दुईपटक आउने जाने गरी रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको भनाइ छ ।आइतबारदेखि बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए । 

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ ।यसैगरी नै नियमित रूपमा रेल्वे सञ्चालन हुने उनले बताए । नेपाल सरकारले खरिद गरेको दुई सेट रेल फागुन १ गतेदेखि ‘ड्रायरन’ गर्दै आएको छ । सुरुमा दिनहुँ एक पटक चलाए पनि गत १ चैतदेखि एक दिनको अन्तरालमा यात्रुबिना सञ्चालन हुँदै आएको थियो । 



रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् । 



रेल्वे सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । रेल्वे जनकपुरधाम आउँदा स्टेशनमा हजारौंको संख्यामा रहेका सर्वसाधारण उत्साहित देखिएका थिए । स्थानीयवासीमा छुट्टै किसिमको खुसीयाली छाएको छ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ ।  

भाडादर ७० देखि ३५० रुपैयाँसम्म 

आइतबारदेखि जयनगर–जनकपुरधाम–कुर्थासम्म सञ्चालन हुने रेल्वेको भाडा समेत निर्धारण गरिएको छ । नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म निर्धारण गरेको छ । 

जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको हो । त्यस्तै, जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १२५, महिनाथपुरको सामान्यको ३५ र एसीको १७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३०० रुपैयाँ भाडा निर्धारण गरिएको बताइएको छ । महाप्रबन्धक झाले टिकट अनलाइन र अफलाइन दुबैको व्यवस्था गरिएको जानकारी दिए । 

नेपाली यात्रुले ५ नियमको पालना गर्नुपर्ने

जनकपुरधाम जयनगर रेल्वेमा यात्रा गर्न नेपाली यात्रुले भारत जानका लागि ५ नियमको पालना गर्नुपर्ने भएको छ । रेलमा यात्रा गर्दा भारतको जयनगरसम्म जानका लागि नेपाली नागरिकले केही कागजात साथमा राखेपछि मात्र प्रवेश दिइने भएको छ । 

सुरक्षा र खुला सीमाका कारण नेपाली नागरिकले रेलमा यात्रा गर्दा पासपोर्ट वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने हुन्छ । रेलमा यात्रा गर्दा नेपाली हो भनेर परिचय खुल्ने गरी वैद्य नेपाली परिचयपत्र अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । 

नागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने हुन्छ । त्यस्तै, आकस्मिक प्रवेशका लागि भारतस्थित नेपालको महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफरिस पत्र वा प्रमाणपत्र साथमा बोक्न भनिएको छ । यसैगरी, १० देखि १८ वर्ष उमेरसम्मका बालबालिकाको हकमा स्कुले आइडी कार्ड अनिवार्य साथमा राख्नुपर्नेछ । 

१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो । त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । 

पछि भारत सरकारले १८ वटा बोगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो । २०६१ माघ रेल बन्द भएको थियो । 

अहिले नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । त्यसअनुसार नै तयारी गरिएको छ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण भइरहेको छ । 

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेको छ ।

जसअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम चलिरहेको छ । 

डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यी दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनीले दावी गरेको छ । डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् । प्रतिघण्टा ११० किलोमिटरको स्पिडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रुले यात्रा गर्न सक्छन् । 

एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगीमा ७० वटा सिट रहेको छ । रेलका बोडिङमा यात्रुले आफूसँग ल्याउने झोलाहरू राख्ने स्थान बनाइएको छ भने प्रत्येक बोगीमा शौचालयको व्यवस्था गरिएको छ। एसीबाहेक अन्य जनरल बोगीमा ठाउँठाउँमा पंखा लगाइएको छ ।

२० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र २ जनरल बोगी रहेको छ । प्रतिकिलोमिटर २ लिटर डिजेलको एभरेज दिने रेलमा आवश्यकता अनुसार थप ४ वटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ ।

गत २ असोजमा सरकारले भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेको थियो । जयनगर–जनकपुरधाम–कुर्था–बर्दिबाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत ५ अर्ब भारु रहेको छ ।

वर्षौंपछि पुनः रेल चलेपछिको खुसी, हेर्नुहोस् तस्बिरमा

  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १६:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया