पकिस्तानी प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ । उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ । 

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरू सरकारको विपक्षमा उभिएका थिए । 

त्यस्तै, पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । पूर्व क्रिकेटरसमेत रहेका प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु ‘अन्तिम बलसम्म’ संघर्ष गरिरहने बताएका थिए । 

उनले आफूलाई हटाउन देशबाहिर षड्यन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपिल गर्दै आएका छन् । अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन् । 

खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । 

आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिबार आफ्ना समर्थकलाई सडकमा उत्रिन आह्वान गरेका थिए । खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन् ।  





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ८:५०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया