धनगढी प्रिमियर लिगको मिति सर्यो

काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र युएइबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्तापछि सारिएको जनाएको छ । 

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रोपटक एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि नेपालले एक दिवसीय मान्यता पाएपछि गत साउनमा नेदरल्यान्ड्ससँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । 

नयाँ मितिअनुसार डिपिएल माघ २६ देखि सुरु भई फागुन ११ गतेसम्म आयोजना हुने आयोजकले उल्लेख गरेको छ । यसअघि आयोजकले माघ १९ देखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको थियो । 

यस्तै, आयोजकले डिपिएलका लागि खेलाडी दर्ताको समयसीमा पनि एक हप्ता बढाएको छ । खेलाडी दर्ता यही पुस १७ गतेसम्मका लागि राखिएको छ । यसअघि खेलाडी दर्ताको समय यही पुस १२ गतेसम्मका लागि तय गरिएको थियो । 

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् । 

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । 
 





  • प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार १५:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया