पुडासैनीले ६० वर्षमा पाए गाउँपालिका अध्यक्षको टिकट, भन्छन्– गठबन्धनको छैन पीर

धेरैका लागि राजनीति नशा भइसकेको छ । यसको लतमा फसिसकेपछि बाहिरिनै गाह्रो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ का देवकृष्ण पुडासैनीमा पनि राजनीतिको नशा चढ्यो । र, उनी शिक्षकको जागिर छोडेर स्थानीय तहको चुनाव लड्ने मुडमा पुगे ।

पुडासैनीले लामो समय पञ्चकन्या माध्यमिक विद्यालयमा पढाए । विद्यालयमा प्राध्यापक रहेका उनी अब भने नेकपा एमालेबाट राजनीति गर्ने भएका छन् । पुडासैनी किशोरावस्थामै एमालेमा सक्रिय थिए । ३५ सालदेखि उनले पार्टीको विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरे । 

शिक्षणसँगै राजनीति गर्न गाह्रो भएपछि भने पुडासैनीले अघिल्लो निर्वाचनमा शिक्षकबाट राजीनामा दिए । ०७४ को निर्वाचनमा इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने मनसायका साथ उनले शिक्षकबाट राजीनामा दिए । तर, पुडासैनीले टिकट पाएनन् ।  

अघिल्लोपटक स्थानीय निर्वाचनमा सामेल हुनको लागि गाउँ कमिटीले पुडासैनी र जीवन लामाको नाम जिल्ला कमिटीमा सिफारिस गर्‍यो । तर जिल्ला कमिटीको निर्णयले लामालाई गाउँपालिकाको अध्यक्ष पदको लागि टिकट दियो । पुडासैनी पाँच वर्षको लागि ब्याक भए । 

टिकट नपाए पनि उनी जीवन लामालाई साथ दिएर भोट माग्दै गाउँ-गाउँ पुगे  । अन्ततः उनले समर्थन गरेको पार्टीले स्थानीय चुनावमा जित हात पार्‍यो । पाँच वर्षसम्म शिक्षण पेसा छोडेर समाजसेवामा लागेका पुडासैनीले आसन्न निर्वाचनको लागि भने इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदको टिकट पाएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमै अध्यक्ष बन्ने सपनाले प्राध्यापकबाट राजीनामा दिएका पुडासैनी पाँच वर्षको अवधिमा धेरै कुरा सिकेको बताउँछन् । ‘लामो समय शिक्षक भएर बिताएँ । विद्यार्थीको उज्ज्वल भविष्य बनाउनको लागि आफ्नो कहिल्यै प्रवाह गरिनँ । सयौं विद्यार्थीको भविष्यको लागि मैले यो योगदान दिए सबल विद्यार्थी उत्पादन गर्न सकिरहेको छु भने गाउँपालिका कै नेतृत्वमा रहेर सबै नागरिकको हितमा किन काम गर्न नसकिएला र भनेर शिक्षण छोडेर राजनीतिमा लागेको हुँ,’ पुडासैनीले भने ।



‘गठबन्धनको छैन पीर’

आसन्न स्थानीय चुनावमा पुडासैनीलाई विगतभन्दा बढी चुनौती छ । यसपालि उनी गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने निश्चित जस्तै छ । तर, पुडासैनी जनताले आफ्नो त्यागको मूल्यांकन गर्नेमा विश्वस्त छन् । 



‘गठबन्धन हुँदैमा मैलै हारौँला भन्ने चिन्ता छैन, निर्वाचन भनेकै हारजितको लागि हुने प्रक्रिया हो । राजनीतिकै लागि मैले आफ्नो तीन दशकको पेसा त्यागेको छु । मेरो राजनीति केका लागि भन्ने मेरा विद्यार्थी, अभिभावक तथा सिंगो गाउँपालिकावासीले बुझ्नु भएको छ । त्यसैले मैले पाँच दलको गठबन्धनलाई पनि पछारेर निर्वाचन जित्छु भन्नेमा पूर्णरूपमा ढुक्क छु,’ पुडासैनीले भने ।

उनले आसन्न निर्वाचनमा नतिजा आफ्नो पक्षमा नआए पनि राजनीति भने नछोड्ने बताए । ‘शिक्षण छोडेजस्तो राजनीति जोडिन्न । हारजित जे भए पनि समाजसेवामै लागिरहने छु । पेसा त्यागेको छु । अब त्यो पेसा जसरी राजनीतिमा लागेर अरू कुरा त्याग्छु भन्ने सोच बनाएको छैन । र, बनाउने पनि छैन,’ पुडासैनीले भने । 

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार ११:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया