स्थानीय निर्वाचन : गठबन्धन दलहरूको आ-आफ्नै अडान, भागबण्डा मिलाउनै कठिन
फाइल तस्वीर

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन आउन जम्मा २६ दिन मात्रै बाँकी रहँदा मकवानपुरमा गठबन्धनबीच सहमति जुट्न सकेको छैन । निर्वाचनका लागि भागबण्डा बाँडफाँटमा कुरा नमिलेपछि मकवानपुरमा पाँच दलीय गठबन्धनको बैठक स्थगित भएको छ ।

गठबन्धनमा रहेका दलहरूले आफूखुसी एकै पालिका तथा वडामा दाबी गर्न थालेपछि सहमति जुट्न नसकेको हो । कुन पार्टीलाई कुन स्थानीय तह भनेर विभाजन गर्न नपाउँदै नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसका नेताहरूले आफूले दाबी गरेको स्थानीय तहबाट पछि नहट्ने अडान राखेपछि सहमति हुन कठिन भएको बताइएको छ ।

गठबन्धनको बैठकमा पाँच दलले गरेको दाबीमा सहमति नजुटेपछि बैठक स्थगित भएको पाँच दलीय संयन्त्र मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले बताए । लामाले भने, ‘बैठकमा सहमति नजिक–नजिक पुग्छौँ, तर फेरि कुरा मिल्दैन, गठबन्धनको दलहरूको प्रत्येक दिनजसो नयाँनयाँ सर्कुलरको कारण समस्या भएको जस्तो लागेको छ ।’

मकवानपुरको बहुमत स्थानीय तहमा आफूहरूको दाबी रहेको भन्दै उनले गठबन्धनको बैठक अब दुई दिनपछि हुनसक्ने बताए ।

गठबन्धनमा हालसम्म बाँडफाँटबारे औपचारिक कुरा नभएको बताउँदै उनले मकवानपुरमा नेपाली कांग्रेसको बहुमत स्थानीय तहमा दाबी रहने र त्यो अन्य दलले समेत स्वीकार गर्नुपर्ने बताए ।

वडा तहसम्म फरक–फरक पार्टीको उम्मेदवार उठाउँदा चुनाव हार्ने भन्दै उनले जुन पार्टीलाई वडाध्यक्षको टिकट दिइयो अन्य पार्टीले समेत सोही पार्टीको चिह्नबाट चुनावमा सहभागी हुने कुरा पनि छलफलमा रहेको उनको भनाइ छ ।



मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सन्दर्भमा नेपाली कांग्रेसले कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताउँदै उनले उम्मेदवार चयन प्रक्रिया पार्टीको नीति, विधिबमोजिम हुने बताए ।

हेटौँडामा कांग्रेस गत स्थानीय तहको निर्वाचनमा समेत झिनो मतले पराजित भएको स्मरण गराउँदै लामाले आगामी निर्वाचनमा पनि कांग्रेसको उम्मेदवार नै मेयर हुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए ।



यता गठबन्धनमै रहेको एकीकृत समाजवादी पार्टीले हेटौंडाको मेयर/उपमेयरको लागि आफ्नै एकल निर्णयले उम्मेदवार सिफारिस गर्ने निर्णय गरिसकेको छ । हेटौंडा उपमहानगरपालिको मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादीको हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले जिल्ला अध्यक्ष पोखरेल र लामालाई मेयरको उम्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । यसैगरी, उपमेयरमा तिलक अधिकारी, ध्रुव भुजेल, कविन पन्त र तारा ढुङ्गाना लामा गरी ४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

गठबन्धनमा रहेका राजनीतिक दलहरूले आफूखुसी स्थानीय तहमा दाबी गर्दा मकवानपुरमा गठबन्धन भत्कने सम्भावनासमेत उत्तिकै बढेको जानकारहरू बताउँछन् । यद्यपि, सहमतिमै गएर केन्द्रको निर्णयलाई आत्मासाथ गरेर गठबन्धनबाटै चुनावी मैदानमा उत्रने तयारी रहेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल बताउँछन् । त्यसो त गठबन्धनमै रहेको माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक सर्केश घलान एकल निर्णयबाट भन्दा पनि गठबन्धनकै निर्णयबाट जान आफ्नो पार्टी पनि तयार रहेको बताए ।

‘हाम्रो पार्टीको दाबी नहुने भन्ने होइन,’ उनले भने, ‘दाबी त अवश्य पनि गर्ने तयारीमै छौँ । तर, कसले कहाँको टिकट पाइन्छ, त्यो सबै निर्णय गठबन्धनको छलफलबाटै हुने भएकोले अहिले माओवादी केन्द्रले दावी नगरेको हो ।’ गठबन्धनकै निर्णयलाई आधार मानेर निर्वाचनमा जाने माओवादी केन्द्र मकवानपुरको जिल्ला संयोजक घलानको भनाइ छ । 

  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार २१:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया