धनगढीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार हमालको टक्कर, पूरा होला मेयर बन्ने सपना ?

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका धनगढीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । धनगढीमा केन्द्रीय नेताहरूको उपस्थिति पनि बाक्लिएको छ । 

अघिल्लो निर्वाचनमा चासोका साथ हेरिएको धनगढीलाई यसपाली पनि केन्द्रको नजर कायमै छ । पाँच दलीय गठबन्धनभित्र भएको भागबण्डामा धनगढी उपमहानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाउने सहमति भएको छ । भागबण्डामा सहमति जुटेन पनि उम्मेदवार घोषणा भने हुन बाँकी छ । 

कांग्रेसले वर्तमान मेयर नृपबहादुर वडलाई नै दोहोर्‍याउने तयारी गरेको छ । संस्थापन पक्षका उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । वडसँगै महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, निवर्तमान जिल्ला समिति सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिस खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्ट पनि मेयरको आकांक्षी देखिएका छन् । 

कांग्रेसबाट उम्मेदवारको सम्भावना देखिएका वड अधुरो योजना पूरा गर्नका लागि आफूले मेयरमा दोहोरिने बताउँदै आएका छन् । उनले धनगढीमा कांग्रेसबाहेक अरू जुनसुकै दल आए पनि जित्न नसक्ने पनि दाबी गर्दै आएका छन् । 

‘धनगढीमा कांग्रेस एक्लै बलियो छ, झन् यसपटक गठबन्धन पनि हुने भएको छ । मेयरमा कांग्रेसको जित भएको घोषणा गर्दा हुन्छ,’ उनले भने । धनगढीमा पाँच वर्षमा धेरै विकास भएको र दोस्रो कार्यकालमा अपूरा काम पूरा गर्ने वडको भनाइ छ । 

‘धेरै व्यक्तिहरूले धनगढीको बजार देखेर विकासको मूल्यांकन गर्ने गरेका छन् । कोरोना कहरका बाबजुद पनि गाउँ–गाउँमा धेरै विकास भएको छ । वडा कार्यालय, स्वास्थ्य चौकीहरू निर्माण भएका छन्,’ उनले भने ।



धनगढीको उप-मेयरमा माओवादीबाट शान्ति अधिकारीलाई उठाउने तयारी भइरहेको छ । उनी अघिल्लो निर्वाचनमा उप-मेयरमा पराजित भएकी थिइन् । अधिकारी उप-मेयरका लागि सिफारिस भएकी एक्ली आकांक्षी हुन् । 

०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा धनगढीमा कांग्रेस उम्मेदवार वड १४ हजार ३२४ मतसहित निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७, तेस्रो स्थानका माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ र चौथो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत ल्याएका थिए ।



सत्तारुढ गठबन्धनमा रहेका दलहरूले ०७४ को निर्वाचनमा पाएको मत जोड्दा २४ हजार ७०४ पुग्छ । जुन स्वतन्त्र उम्मेदवार हमालको मतभन्दा १३ हजार १७७ मतले बढी हो ।

यसपाली गठबन्धनको मुख्य प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हमाल नै हुने आँकलनसमेत गरिन थालेको छ । उनले यसपटक गठबन्धनलाई चकित पार्न चुनावी गतिविधिलाई तीव्ररूपमा अगाडि बढाइरहेका छन् । हमालले एक महिना अघिदेखि नै मतदातासँग भेटघाट पनि गरिरहेका छन् ।  

उनी आसन्न चुनावमा विपक्षी गठबन्धन मुख्य चुनौती बन्ने भए पनि आफूले जित हासिल गर्नेमा ढुक्क छन् । ‘राजनीतिमा स्वतन्त्र उम्मेदवार भएपछि भोट नै पाउँदैन भनेर मत खेर किन फाल्ने, जित्दैन भन्ने मानसिकता थियो । यसपाली धनगढीवासीले प्रतिस्पर्धा को-कोका बीचमा हुन्छ भन्ने बुझेका छन्,’ हमालले भने, ‘त्यसबेला पुग्न नसकेको ठाउँमा पनि यसपाली पुगेको छु । सकारात्मक सुझाव पाएकाले जित्ने विश्वास  छ ।’  

स्वतन्त्र रूपमा अन्तिमपटक चुनाव लड्ने भन्दै विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजकबाट राजीनामा दिएर उनी निर्वाचनमा सक्रिय भएका हुन् । अघिल्लो हारबाट पाठ सिक्दै यसपटक जित निकाल्ने रणनीतिका साथ चुनाव केन्द्रित भएको हमालले बताए ।

अघिल्लोपटक उर्मा, फुलबारी र बेली क्षेत्रबाट मत नआएकाले हार बेहोरेको पनि उनले स्मरण गरे । तर, यसपाली भने यी क्षेत्रका नागरिक पनि आफूलाई साथ दिने हमालको दाबी छ । ‘यसबीचमा सबै जनतालाई मत मागिरहेको छु । सहयोग गर्ने बचन दिएका छन्,’ उनले भने । 

धनगढी मोडल स्थापित गर्न आफूलाई मेयरमा जिताउनुपर्ने हमाल बताउँछन् । ‘हारपछि मैले ५ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताएँ, मेयरले लिने सेवा सुविधाको लिन्न । भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ,’ उनले भने, ‘धनगढीले मलाई यहाँसम्म पुगाएको छ । त्यसैले धनगढीलाई मोडेल बनाउने मेरो एउटै लक्ष्य हो ।’ 

अघिल्लो निर्वाचनमा दलका उम्मेदवारलाई कडा टक्कर दिएका हमालले यसपाली पनि चुनौती दिने देखिन्छ । १४ वर्ष उद्योग वाणिज्य महासंघको सदस्य रहिसकेका उनले आफ्नो कार्यकाल (२०६३/६६) मा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए ।    

सत्ता गठबन्धन दलहरूले मेयर र उप-मेयरको टुंगो लगाए पनि वडाध्यक्षको भागबण्डा भने गर्न सकेको छैन । गठबन्धनमा रहेका दलमध्ये  नेकपा (एकीकृत समाजवादी) आफूलाई पाखा लगाउन खोजेको भन्दै चिढिएको छ । यसअघि नै सम्मानजनक भूमिका नभएको भन्दै ऊ गठबन्धनसँग असन्तुष्ट रहेको हो । 

गठबन्धनबीचको विवाद साम्य नभए धनगढीमा स्वतन्त्र र एमालेका उम्मेदवारलाई फाइदा हुनसक्छ । तर, कांग्रेस जिल्ला सभापति नारायण भट्ट भागबण्डाको विषय अन्तिम चरणमा पुगिसकेकाले छिट्टै उम्मेदवार घोषणा गरिने बताउँछन् ।

‘गठबन्धनले धनगढीमा मेयर कांग्रेसलाई र उप-मेयर माओवादीलाई दिने निर्णय गरेको छ । वडामा कुन दलको कति भन्ने विषयमा टुंगो लगाउन सकेको छैन, प्रदेश समितिले छलफल जारी राखेको छ । आज साँझसम्म टुंगिन्छ होला,’ उनले भने । ०७४ को मत परिणामअनुसार पनि को भागबण्डा हुने उनले बताए । ‘बहुमत आफूसँग राखेर अन्यमा बाँडफाँड हुन्छ,’ सभापति भट्टले भने ।

अघिल्लो निर्वाचनमा धनगढीको १९ मध्ये १२ वटा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै, माओवादी केन्द्रले पाँच र नेकपा एमालेले दुईवटा वडामा जित हात पारेको थियो । पार्टी विभाजनपछि एमालेका एक वडाध्यक्ष एकीकृत समाजवादीमा लागेका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार उम्मेदवारीको मनोनयन रहेको छ ।  

  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार १२:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया