'हेटौँडामा माओवादीले पालो नपाउँदा मन अमिलो छ'

आसन्न निर्वाचनमा कांग्रेसको अगुवाइमा ५ दलीय गठबन्धनमा चुनावी मैदानमा उत्रिँदै छ । ०७४ को स्थानीय तहको निर्वाचनमा मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा दुई दलबीचको गठबन्धन गर्दा कांग्रेसलाई मेयरको उम्मेदवार छोडेको माओवादीले आसन्न निर्वाचनमा पनि मेयर पाएन ।

केन्द्रबाटै एकीकृत समाजवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने निर्णय भएपछि माओवादीले यो पटकको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा आफ्नो नेतृत्व गुमाउने भएको हो । 

चितवनको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने केन्द्रले निर्णय गरेको छ । गठबन्धनका तर्फबाट पुष्पकमल दाहाल 'प्रचण्ड'की पुत्री रेनु दाहाल मेयर दोहोर्‍याउने तयारी छ । ०७४ सालको निर्वाचनमा पनि कांग्रेस र माओवादीले गठबन्धन गर्दा भरतपुर मेयरमा रेनु विजयी भएकी थिइन् ।

यहाँ पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा १४ जेठमा मतपत्र च्यातिएपछि पुनः मतदान भएको थियो । सोही क्रममा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दै रेनुले भरतपुरको मेयर निर्वाचित भइन् ।

भरतपुर माओवादी केन्द्रलाई दिने केन्द्रको निर्णयसँगै रेनुले फेरि मेयरमा दोहोरिने मौका पाएकी छन् । भरतपुरको मेयर उम्मेदवारमा रेनु दोहोरिने चर्चा चल्दा माओवादी केन्द्र हेटौंडाका नेताहरूको मन भने अमिलो छ ।



माओवादी केन्द्र हेटौंडा नगरपालिका अध्यक्ष तीर्थ थापा यो निर्वाचनमा हेटौंडाको मेयर माओवादीले पाउने आस गरेका थिए । तर, त्यस्तो हुन नसक्दा उनको मन अमिलो भएको हो ।

०७४ सालको निर्वाचनमा हेटौंडाको मेयरमा कांग्रेसलाई छोडेर माओवादीले उपमेयर लिएको स्मरण गर्दै थापाले भने, ‘जनमतको आधारमै जाने हो भने पनि कांग्रेसले अघिल्लो वर्ष पाइसकेपछि आसन्न निर्वाचनमा हेटौंडाको मेयर हामीले पाउनुपर्थ्यो । समाजवादी त अहिले टेस्टको रूपमा निर्वाचनमा जाँदैछ ।'



'एमालेबाट टुक्रिएको पार्टीलाई हेटौँडा उपमहानगरपालिका जस्तो ठाउँमा मेयर दिने विषयमा केन्द्रीय कमिटीले पनि सोच्न जरुरी थियो,' उनी थप्छन्, 'गठबन्धनको निर्णयअनुसार नै माओवादी पनि अघि बढ्ने भएकोले साथ त दिइन्छ । तर, मन भने नरमाइलो लागेर मन धमिलो भएको छ ।’

भरतपुर महानगरलाई गठबन्धनको बैठकमा माओवादीले प्राथमिकतामा राखेको भए पनि हेटौंडालाई भने उपेक्षा गरिएको जस्तो भान भएको नगर अध्यक्ष थापा बताउँछन् ।

आसन्न निर्वाचनमा माओवादी केन्द्रबाट हेटौंडाको मेयरको आकांक्षीसमेत रहेका थापा आफूहरू गठबन्धनको मारमा परेको बताउँछन् । यद्यपि, गठबन्धनको निर्णयलाई साथ दिएर अघि बढ्नेमा भने दुईमत नरहेको थापाको भनाइ छ ।

उनका अनुसार ०७४ को निर्वाचनमा कांग्रेसलाई मेयर दिएर अर्को निर्वाचनमा पनि गठबन्धन नै भए माओवादीलाई टिकट दिइने शर्तमा निर्वाचन सम्पन्न भएको थियो । माओवादीले पनि जबरजस्ती आफ्नो भाग नखोजेर आफूले पाएको स्थानीय तहमा मात्रै दाबी गरेर निर्वाचनमा सामेल भएको थियो । यसै अनुरूप मकवानपुरको १० स्थानीय तहमध्येको दुईवटा स्थानीय तहमा मात्रै आफ्नो नेतृत्व पाउन सफल रह्यो ।

थाहा नगरपालिकाको मेयर लवशेर विष्ट ९ हजार ९१ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले ६ हजार ५ सय ४९ मत पाएका थिए ।

त्यस्तै, माओवादीले मकवानपुरको अर्को स्थानीय तह बागमती गाउँपालिका जित हाँसिल गरेको थियो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले ३ हजार २ सय २१ मत पाएर निर्वाचित भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार तिमल्सिनाले ३ हजार ८६ मत पाएका थिए ।

  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार १९:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया