नेपाल कम्युनिस्ट पार्टी स्थापनाकाे ७३ वर्ष पूरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि ९ वैशाख २००६ मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । 

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापाथलीदेखि च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् । उनीहरूले भारतको  काेलकातामा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँलगायत कार्यक्रम लोकप्रिय बन्यो । 

त्यसपछि भने कम्युनिस्ट पार्टीहरूले पटकपटक सत्तारोहरण गरिसकेका छन् । तर, उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिस्ट पार्टीहरू आलोचित छन् । 



अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् । तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । जसको राजनीतिक लाभ ओली नेतृत्वको नेकपा एमालेले दिँदै आएको छ । 

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।



पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार स्थापना भएको मिति इस्वी सम्वतमा भएको र त्यसलाई विक्रम सम्वतमा रूपान्तरण गर्दा १० वैशाख भएको दाबी गरेका छन् ।  


  • प्रकाशित मिति : वैशाख ९, २०७९ शुक्रबार ७:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया