लामो रस्सकस्सीपछि नेकपा (एमाले) बाट मेयर टिकट सागर थापाले पाएका छन् । केन्द्रीय नेताहरुले विराटनगरको मेयरमा आकांक्षा राख पनि अन्ततः एमालेले उनीहरुलाई पन्छाउँदै थापालाई टिकट दिएको हो ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले थापालाई महानगर प्रमुख र कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
केन्द्रीय नेतहरुले समेत आकांक्षा देखाए पनि तल्लो तहका सागर थापा आम कार्यकर्ताका माग थियो । उनी विराटनगरमा लोकप्रिय छन् ।
बुवा चन्द्रबहादुर र आमा कमला थापाको कोखबाट ३ साउन २०३३ मा जन्मिएका उनी विराटनगरवासी माझ घुलमिल हुँदै आएका नेता हुन् ।
विराटनगर–४ जामुनगाछी घर भएका थापा स्कुले जीवनदेखि नै विद्यार्थीको हक हितको आवाज उठाउँदै अनेरास्ववियुमा आबद्ध भएका थिए ।
विद्यार्थी आन्दोलनबाटै उनी पार्टीको राजनीतिमा आएका हुन् । थापा २०४६ सालदेखि औपचारिक रुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए ।
स्नातकोत्तरसम्मको अध्यक्ष पुरा गरेका थापा देशकै चर्चित विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको दुई टक स्ववियू सभापति भए ।
थापा महेन्द्र मोरङ क्याम्पस विराटनगरको २०५७ देखि ०६० र २०६० देखि २०६२ सम्म स्ववियू सभापति भएका थिए ।
विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय थापा विद्यार्थी कालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए ।
नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष भई लगातार १२ वर्षदेखि विराटनगर महानगरको नेतृत्व थापाले गरेका छन् ।
शाही शासन कालमा आन्दोलन गरिरहँदा पक्राउ परि २८ दिन जेल जीवन पनि उनले बिताएका थिए ।
२०७४ सालमै मेयरको उम्मेदवार टुंगो लागेपनि अन्तिम समयमा हेभिवेट नेतालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि उनी पछि हटेका थिए ।
२०७४ सालको निर्वाचनमा नेता विनोद ढकालले टिकट पाएका थिए । तर, उनी तत्कालिन कांग्रेसका नगरसभापति भीम पराजुलीसँग पराजित भएका थिए ।
पराजुली पनि नेवि संघको बागी उम्मेदवार बनेर महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति जितेका थिए । सागर थापापछिका स्ववियु सभापति पराजुली हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।