यही ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरको १० गाउँपालिकामध्ये सातवटाका अध्यक्षले फेरि उम्मेदवारी दर्ता गराएका छन् ।
यसपालि कैलाश गाउँपालिका टंक मोक्तान, राक्सिराङ गाउँपालिकामा राजकुमार मल्ल, मनहरी गाउँपालिकामा एकराज उप्रेती, बागमती गाउँपालिमा सर्केश घलान, मकवानपुरगढी गाउँपालिकामा विदुर हुमागाईं, इन्द्रसरोवर गाउँपालिकामा जीवन लामा र भीमफेदी गाउँपालिकामा हिदम लामाले फेरि दोहोरिने चाहना राखेका हुन् ।
उनीहरूमध्ये अधिकांश उम्मेदवार ०७४ को स्थानीय निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीसँगै प्रतिस्पर्धा गर्दैछन् ।
यी हुन् फेरि दोहोरिन खोज्ने पालिका अध्यक्ष र उनीहरूका प्रतिस्पर्धी
टंक मोक्तान
मोक्तान अघिल्लोपटक नेकपा एमालेबाट कैलाश गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । तर, पार्टी विभाजनपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजे । यसपालि मोक्तान नेकपा एसबाट चुनावमा भाग लिँदै छन् ।
०७४ को निर्वाचनमा उनी २ हजार ८०२ मतसहित विजयी भएका थिए । मोक्तानका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकबहादुर मुक्तानले २ हजार ३ सय ५९ मत पाएका थिए । आसन्न निर्वाचनमा पनि कांग्रेसका लोकबहादुरसँग टंकको भिडन्त हुने पक्का भएको छ ।
लोकबहादुरले पनि यसपालि कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यसपालि पनि यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । केही महिनाअघि भष्टाचार अभियोगमा निलम्बनमा परेकाले मोक्तानलाई चुनावमा धक्का पनि लाग्न सक्छ ।
विदुर हुमागाईं
हुमागाईँले पनि अघिल्लो निर्वाचनमा एमालेबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा जित हात पारे । उनी यसपालि पनि अध्यक्षमा दोहोरिन चुनावी मैदानमा छन् । पहिलो कार्यकालमा अधुरा रहेका काम पूरा गर्न आसन्न चुनावमा पनि जनतामाझ जानु परेको उनी बताउँछन् ।
०७४ को निर्वाचनमा एमालेबाट चुनाव जिते पनि संसद् विघटनको बेला तटस्थ जस्तै बसेका थिए । तर, पछि उनी फेरि एमालेमै खुले । अघिल्लो निर्वाचनमा हुमागाईँले ३ हजार ८१४ मतका साथ जित प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ मत पाएका थिए । अघिल्लोपटक हारेका दोर्जे यसपालि पनि हुमागाईंसँग भिड्दै छन् ।
हिदम लामा
भीमफेदी गाउँपालिकाको अध्यक्षबाट राजीनामा हिदम लामा फेरि चुनावी मैदानमा छन् । ०७४ को निर्वाचनमा उनी पनि एमालेबाट विजयी भएका थिए । त्यसबेला लामाले ३ हजार ८ सय ४२ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रञ्जित रानाले ३ हजार ६ सय ९८ मत पाएका थिए । आसन्न निर्वाचनमा पनि लामाले रानाविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । यी दुई उम्मेदवारको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
सर्केश घलान
पूर्वीमकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पनि अध्यक्ष पदमा दोहोरिनको लागि पुनः उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट निर्वाचित भएका घलान फेरि दोहोरिएर अधुरा विकास निर्माणका काम पूरा गर्ने बताउँछन् ।
घलान ०७४ को निर्वाचनमा ३ हजार २ सय २१ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार तिमल्सिनाले ३ हजार ८६ मत प्राप्त गरेका थिए ।
एकराज उप्रेती
मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पनि दोहोरिनको लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी अघिल्लोपटक एमालेबाट विजयी भएका थिए । फेरि गाउँपालिकाका दोहोरिनुको कारण उनको पनि फरक छैन ।
‘पाँच वर्षमा हात हालेका आयोजनाहरू आफैंले पूरा गर्नको लागि फेरि उम्मेदवारी दिएको हुँ,’ उप्रेतीले भने । उनी ०७४ को निर्वाचनमा ४ हजार ६ सय ४० मतका साथ विजयी भएका थिए ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका शंकर न्यौपानेले ४ हजार ३ सय ४९ मत पाएका थिए । आसन्न निर्वाचनमा पनि उप्रेती र न्यौपाने चुनावीबीच प्रर्तिस्पर्धा हुने भएको छ । न्यौपाने यसपालि पनि कांग्रेसबाट गाउँपालिका अध्यक्षमा भिड्दै छन् ।
जीवन लामा
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा पनि आसन्न निर्वाचनमा दोहोरिन चुनावी मैदानमा छन् । उनी ०७४ को निर्वाचनमा एमालेबाट ३ हजार २०४ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वलाल लामाले २ हजार २ सय ७३ मत प्राप्त गरेका थिए ।
यही ३० वैशाखको निर्वाचनमा पनि जीवन र विश्वलालको भेट हुनेछ । लामाले अहिले एकीकृत समाजवादीबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
राजकुमार मल्ल
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल पनि पुनः दोहोरिने दाउमा छन् । अघिल्लो निर्वाचनमा उनी कांग्रेसबाट विजयी भएका थिए । यसपालि पनि मल्ललाई कांग्रेसले नै टिकट दिएको छ ।
उनले ०७४ को चुनावमा ३ हजार ५३९ मत ल्याउँदै जित हात पारेका थिए । मल्लका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले २ हजार ९ सय ४४ मत प्राप्त गरेका थिए ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाका प्रमुख र अध्यक्षले भने यसपालि उम्मेदवारी मनोनयन गरेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।