आइपिएल पर्पल क्याप दौडमा रहेका पाँच बलर

भारतमा अहिले १५ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) चलिरहेको छ । विश्वकै चर्चित फ्रेन्चाइज लिग आएपिएलको जारी सिजनमा ३९ खेल सकिसकेका छन् । 

यो अवस्थासम्म बलिङमा स्पिनरको दबदबा छ । ३९ म्याचको समाप्तिमा पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने बलरको शीर्ष पाँचमध्ये तीन स्पिनर रहेका छन् । 

यी हुन् ३९ म्याच सकिँदा सर्वाधिक विकेट लिने पाँच बलर 

युजवेन्द्र चहल (राजस्थान रोयल्स)

जारी सिजनमा राजस्थान शानदार लयमा देखिएको छ । टोलीको जितमा अनुभवी स्पिनर युजवेन्द्र चहलले महत्वपूर्ण योगदान दिइरहेका छन् ।  

उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि शीर्ष स्थानमा छन् । चहलले आठ म्याच खेल्दा १८ विकेट हात पारिसकेका छन् । १२.६१ औसत र ७.०९ को इकोनोमी रहेका उनले हालसम्म ३२ ओभर बलिङ गर्दा २२७ रन खर्चिएका छन् । 



४० रन दिएर ५ विकेट लिनु चहलको उत्कृष्ट प्रदर्शन हो । समूह चरणकै ६ खेल बाँकी रहेकाले यसपालि उनले नै पर्पल क्याप जित्ने सम्भावना बलियो छ । 

 टि नटराजन (सनराइजर्स हैदराबाद)



सुरुवाती दुई खेल गुमाए पनि पछिल्लो पाँच खेलमा जित हात पार्दै लयमा फर्किएको हैदराबादका लागि तीव्र गतिका बलर टि नटराजनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

सात खेलमा १५ विकेट हात पार्दै पर्पल क्याप दौडको दोस्रो स्थानमा रहेका नटराजनको औसत १४.५३ र इकोनोमी ८.०७ छ । हालसम्म २७ ओभर बलिङ गरेका उनले २१८ रन खर्चिएका छन् । १० रन दिएर तीन विकेट हात पार्नु नटराजनको उत्कृष्ट प्रदर्शन हो । 

ड्वेन ब्राभो (चेन्नई सुपर किंग्स)

चारपटकको आइपिएल विजेता चेन्नई जारी सिजनमा खराब लयमा छ । आठ खेल खेल्दा उसले दुई खेलमा मात्र जित हात पार्न सकेको छ । टोलीको प्रदर्शन सम्झनलायक नरहे पनि  तीव्र गतिका बलर ड्वेन ब्राभोले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका ब्राभोले आठ खेलमा १४ विकेट लिएका छन् । १८.५० को औसत तथा ८.७३ को इकोनोमी रहेका ब्राभोले हालसम्म २९.४ ओभर बलिङ गर्दा २५९ रन खर्चिएका छन् । २० रन दिएर तीन विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

वानिन्दु हसरंगा (रोयल च्यालेन्जर्स बैंग्लोर)

जारी सिजनमा बैंग्लोरका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका स्पिनर वानिन्दु हसरंगाले ९ खेलबाट १३ विकेट हात पारेका छन् । पर्पल क्याप दौडको चौथो स्थानमा रहेका उनको औसत १८.८४ र इकोनोमी ८.१६ छ । हालसम्म ३० ओभर बलिङ गर्दा २४५ रन खर्चिएका उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर चार विकेट हात पार्नु हो । 

कुलदीप यादव (दिल्ली क्यापिट्ल्स)

दिल्लीले जारी सिजनका मध्यम प्रदर्शन गरिरहेको भएपनि स्पिनर कुलदीप यादव भने गज्जबको लयमा देखिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौंमा रहेका उनले सात खेलबाट १३ विकेट हात पारेका छन् । 

उनको औसत १७.३८ र इकोनोमी ८.४७ छ । हालसम्म २६.४ ओभर बलिङ गर्दा २२६ रन खर्चिएका कुलदीपको उत्कृष्ट प्रदर्शन ३५ रन दिएर चार विकेट हात पार्नु हो ।

  • प्रकाशित मिति : वैशाख १४, २०७९ बुधबार १२:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया