कोभिडको असर घटेसँगै अर्थतन्त्रमा सुधार हुँदै छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन् ।

बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताएका हुन् । उनले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताए ।

गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताए । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको उनले उल्लेख गरे ।

गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रूस र युक्रेनबीचको युद्धका कारण महँगी बढ्न सक्ने बताए । चालू आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको उनले बताए ।

'देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको छ । कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महँगी बढ्ने देखिएको छ' उनले भने ।

त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको  बताए । उनले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताएका हुन् ।



उनले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताए । अर्थतन्त्र बाह्य क्षेत्रको कारण दबाबमा परेको मिश्रले  बताए । उनले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताए ।

कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने मिश्रको भनाइ छ । उनले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताए । उनले पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे ।



कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।

  • प्रकाशित मिति : वैशाख १४, २०७९ बुधबार १८:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया