\
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरीत खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीनिकट नेपाल साँस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अन्य नागरिकले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता करेक्सन गरेर अघि बढ्नुपर्ने बताए ।
महामन्त्री शर्माले निर्वाचनमा फजुल खर्च नगर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन पनि पार्टीका स्थानीय तहका उम्मेदवारलाई सचेत गराए ।
‘अहिले बनेको आचारसंहितामा केही प्रश्न उठाउनुपर्ने विषय पनि छन । सामाजिक सञ्जालबाट प्रचार गर्न नपाउने हो भने, उम्मेदवारले मात्रै गर्न पाउने भन्ने हो भने, पार्टीले मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रचार गर्ने भन्ने हो भने त्यो अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको हुन्छ । त्यसैले मैले भनेको छु–आचारसंहिताले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता बन्देज गर्न खोजेको छ भने त्यसलाई करेक्सन गरौं । र, स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौं । निर्वाचनमा फजुल खर्च नगरौं ।’
महामन्त्री शर्माले निर्वाचनका बेला झूटा आश्वासन बाँडेर नहिँड्न पनि पार्टीका उम्मेदवारलाई आग्रह गरे । झूटा सपना निर्वाचनको बेला देखाउने तर पछि त्यसलाई पूरा गर्न सकिएन भने जनतामा निराशा छाउने अवस्था आउने उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।