धनुषामा मेयरका चारसहित १०९ जनाको उम्मेदवारी फिर्ता

धनुषामा नगरप्रमुख पदका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 
जिल्लामा मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेकोमा उपमहानगरका मेयर पदका दुई, नगरपालिकाका दुई मेयर र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

जनकपुरधाममा उम्मेदवारी दिएकाहरूमध्ये मेयर पदका दुईसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ मेयर पदमा उम्मेदवारी दिएका वैधनाथ साह, नन्दकुमार भगत, उपमेयरका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

मिथिला नगरपालिकामा मेयर पदका २ उम्मेदवारसहित ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताए । मेयरमा नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दिएका निवर्तमान मेयर हरिनारायण महतो र जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्ष पदका पाँच र वडा सदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत धितालले जानकारी दिए । 

यस्तै, धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जिवी गौतमले जानकारी दिए । लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

बटेश्वर गाउँपालिकामा एक गाउँपालिका अध्यक्षका उम्मेदवारसहित तीन जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए । अध्यक्ष पदका उम्मेदवार खलेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 



धनौजी गाउँपालिकामा समेत अध्यक्षका एक उम्मेदवारसहित तीन जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए । अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल र दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

विदेह नगरपालिकामा पाँच जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिए । विदेहमा वडाध्यक्ष पदका दुई र महिला सदस्यका तीन जनाले उम्मेदवारी फिर्ता लिएकी छन् । 



हंसपुर नगरपालिकामा एक सदस्य र एक दलित सदस्य सहित दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैला नगरपालिकामा ६ जना वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी दिए । 

क्षीरेश्वरनाथ नगरपालिकामा वडाध्यक्ष पदका तीन, सदस्य चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरि १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने शहिदनगर नगरपालिकामा सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्ष पदका एक, सदस्य दुई, दलित सदस्य दुई र महिला सदस्य दुई जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए । 

यस्तै, नगराईन नगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिए । नगराईनमा वडाध्यक्ष पदका चार, सदस्य सात र महिला सदस्य पदका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

मिथिला विहारी र कमला नगरपालिकामा वडाध्यक्ष पदका एक/एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा भने तीन जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

यस्तै, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा तीन जना, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात जना, लक्ष्मिनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार २०:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया