काठमाडौंमा बालेनले कति ल्याउलान् मत ? कसको भोट बढी काट्लान्ः एमाले कि कांग्रेसको ?

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको माहोलले देश तातिइसकेको छ । देशभर उम्मेदवारी दिएकाहरु अब चुनावी प्रचारमा केन्द्रित हुन थालेका छन् । 

सबैको चासोको केन्द्र काठमाडौं महानगर पनि स्वभाविक रुपमा छ । काठमाडौंमा नेपाली कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेका केशव स्थापित, राप्रपाका मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह अहिले सबैको नजरमा परेका छन् । यीमध्ये पछिल्लो समय युवाहरुको आकर्षण  र्‍यापर बालेन शाहमाथि पर्न थालेको छ । त्यसैले बालेन शाहले स्थानीय तह निर्वाचनमा उल्लेख्य मत ल्याउने र यसले मेयरमा को निर्वाचित हुनेछ भन्ने निर्धारण गर्ने अड्कलबाजी पनि गर्न थालिएका छन् । 

त्यसो त बालेन शाह आफैंले मतको संख्या लिएर चुनावी अभियानमा आफूलाई सरिक बनाएका छन् । उनले यसपटक निर्वाचनमा ९० हजार ८ सय ३५ मत ल्याएर आफू निर्वाचित हुने तथ्यांक पेश गरिरहेका छन् । उनको यो दाबी भनेको २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले ल्याएको मतभन्दा झन्डै ३० हजारबढी मत हो । २०७४ मा शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका थिए । उनीसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

२०७४ सालको चुनावी नतिजालाई हेर्ने हो भने बालेनले दाबी गरिरहेको यो मत तत्कालीन विवेकशील पार्टी र साझा पार्टीका दुई उम्मेदवार रन्जु दर्शना र किशोर थापाले ल्याएको मत जोड्दा आउने प्रतिफलको ठ्याक्कै डबल हो । त्यति बेला दर्शना र थापाले क्रमशः २३ हजार ४ सय ३९ र १८ हजार ४९६ मत ल्याएका थिए । 

दुवैको मत जोड्ने हो भने ४१ हजार ९ सय ३५ मत हुन आउँछ । त्यसैले बालेनले यसपटक दाबी गरेको ९० हजार ८ सय ३५ यी दुईको मतको योगफलको डबलभन्दा बढी हो । यसपटक काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् । यो अघिल्लो पटकको भन्दा २० हजार ९ सय ३३ बढी हो ।

नयाँ मतदाताको संख्यालाई आधार मान्ने हो र बालेनको दाबीलाई लिने हो भने उनले नयाँ मतदाता सबैलाई मात्र तानेर पुग्दैन, यसअघि विद्यासुन्दर शाक्य, राजुराज जोशी, रन्जु र किशोरलाई मत दिएका मतदातालाई पनि आफूलाई मत हाल्नु पर्ने बनाउनु पर्ने हुन्छ । 



के यो सम्भव छ त ?

२०७४ सालको स्थानीय तह निर्वाचनमा समाजिक सन्जाल तथा युवाहरुमा सबैभन्दा बढी चर्चामा थिइन्, रन्जु दर्शना । उनी चर्चामा आउनुको कारण उनको पार्टीगत हैसियत पनि थियो । त्यति बेला विवेकशील पार्टीले लामो समयदेखि विभिन्न अभियानहरु चलाइरहेको थियो, माइतीघरमा धर्ना र प्लेकार्ड बोकेर ऊ उभिएको महिनौँ भइसकेको थियो ।



त्यसैले रन्जुलाई युवा मतदाताले मात्र होइन, काठमाडौं महानगरका अरु मतदाताहरुले पनि मत दिएको अनुमान गर्न सकिन्छ । त्यति बेला उनले मेयर पदमा विशेषतः कांग्रेसका मतदाताहरुको मत काटेको अनुमान गरिन्छ ।

यसको कारण के पनि हो भने त्यति बेला वडाध्यक्षहरुमा कांग्रेसले ल्याएको मतभन्दा कम मत ल्याएका थिए, मेयर उम्मेदवार राजुराज जोशीले । २०७४ सालमा कांग्रेसका वडाध्यक्षका सबै उम्मेदवारको मत जोड्ने हो भने ६३ हजार ३ सय २८ पुगेको थियो । तर, मेयरमा जोशीले ४५ हजार मात्र मत ल्याएका थिए ।

यसपटक कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई एउटा पक्ष सहज देखिन्छ । त्यो हो, २०७४ सालमा मेयर पदमा नेकपा माओवादीका उम्मेदवारले ल्याएको ७ हजार ९ सय ६ मत पनि उनको पक्षमा पर्ने देखिन्छ ।

त्यति बेला तत्कालीन नयाँ शक्तिले पनि मेयरमा ६ हजार ५० मत ल्याएको थियो । अहिले सत्तारुढ गठबन्धनमा भएकाले र सिर्जना सिंह गठबन्धनकी उम्मेदवार भएकाले उनले यी मतलाई पनि आफ्नो पक्षमा पार्न सकिन् भने उनको मत बढ्ने देखिन्छ । त्यस्तै, थपिएका २० हजारभन्दा बढी मतदातालाई पनि उनले टार्गेट गर्न सक्छिन्, जसले गर्दा उनको मत बढ्ने देखिन्छ ।

त्यसो त २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा भन्दा एमालेका वडाध्यक्षहरुले बढी मत पाएका थिए । 

मेयरमा निर्वाचित शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा काठमाडौं महानगरका ३२ वडामा एमालेका उम्मेदवारलाई ७३ हजार १ सय २४ मत दिइएको थियो ।

यसको अर्थ हो, त्यति बेला विवेकशीलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापाले दुवै पार्टीबाट मत कटाएका थिए, मेयर पदका लागि । 

यसपटक चर्चा र चासोको केन्द्र बनेकाले बालेनले पनि कांग्रेस र एमाले दुवैका मत काट्न सक्ने अनुमान गर्न सकिन्छ । ३१ वर्षका स्ट्रक्चरल इन्जिनियर बालेनलाई कलाकारहरुले पनि खुलेर समर्थन गर्न थालेका छन्, उनको पक्षमा मत माग्न थालेका छन् । त्यसैले यसपटक बालेनले स्वतन्त्र उम्मेदवारको हैसियतमा मूलधारका राजनीतिक पार्टीहरुलाई चुनौति खडा गर्ने देखिन्छ । 

अर्कोतिर, यसअघिको जस्तो विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले रन्जु दर्शनाले र किशोर थापाले ल्याएका मतलाई संरक्षण गर्न सक्ने वा नयाँ मतदाता थप्न सक्ने सम्भावना पनि कम देखिएको छ । यसको मुख्य कारण हो, पछिल्लो समय साझा विवेकशील पार्टीमा देखिएको विवाद ।

पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा उनले यसअघिका पार्टीका मतादातालाई होल्ड गर्न सक्ने देखिँदैन । फेरि काठमाडौं महानगरभित्र विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको बढी प्रभाव देखिन्छ । यसले गर्दा पनि समीक्षाका लागि यसअघि रन्जु र किशोरले ल्याएको मत संरक्षण गर्नु नै ठूलो चुनौति देखिन्छ ।

त्यस्तै, राप्रपामा पनि पछिल्लो समय देखिएको फुटका कारण मदनदास श्रेष्ठले पनि यसअघि उपमेयरमा राप्रपाबाट राजाराम गौतमले ल्याएको जस्तो ३० हजार मत कटाउन सक्ने देखिँदैन । फेरि त्यति बेला राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुको मत जोड्दा १० हजारभन्दा केही बढी देखिन्छ । 

तर, यसपटक विभाजित भएको राप्रपाका लागि यही मत संरक्षण गर्न पनि निकै ठूलो चुनौति देखिन्छ ।

विवेकशील साझा पार्टी र राप्रपामा देखिएको विभाजनको प्रत्यक्ष फाइदा बालेन शाहलाई पुग्ने देखिन्छ । बालेनलाई यसपटक नेपाली कांग्रेस र नेकपा एमालेका मेयर उम्मेदवारहरु ‘पपुलर’ नहुनुले पनि फाइदा पुग्न सक्छ । नेपाली कांग्रेसले मेयर उम्मेदवार बनाएकी सिर्जना सिंहलाई परिवारवादको आरोप लागिसकेको छ । उनी राजनीतिमा ३ दशकभन्दा बढी समयपछि कमब्याक गर्न खोजिरहेकी छिन् । 

प्रकाशमान सिंह पत्नी भएकै कारण उनलाई टिकट दिइएको भन्दै नेपाली कांग्रेसका समर्थकहरुले पनि कांग्रेसको यस्तो चलनलाई अन्त्य गर्नु पर्ने आवाज उठाउन थालेका छन् । यसले स्पष्ट देखाउँछ– कांग्रेसका मतदातालाई नै पनि सिर्जनामाथि विश्वास र भरोसा छैन । यसको विकल्पका रुपमा र परिवर्तनका रुपमा बालेनलाई अगाडि ल्याउन कांग्रेसका मतदाता पनि अगाडि सर्न सक्छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित जति जति चुनावी दिन नजिकिँदै छ, त्यति त्यति विवादको भुङ्ग्रोमा पर्दै गइरहेका छन् । चार वर्षअघि देखि महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेका स्थापितसँग काठमाडौं महानगरका सचेत मतदाताहरु रुष्ट छन् । यस्तो अवस्थामा नेकपा एमालेलाई नै भोट दिने मतदाताले पनि विकल्पका रुपमा बालेनलाई अगाडि सार्न सक्छन् । जसले गर्दा बालेनले मेयर पदमा नेकपा एमालेको मत पनि पर्याप्त काट्न सक्ने अनुमान गर्न सकिन्छ । 

  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १३:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया