उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई गहुँ भित्र्याउन चटारो

स्थानीय तहको निर्वाचन आउन जम्मा आठ दिन मात्र बाँकी छ । दलहरु र पालिकामा उम्मेदवारलाई यतिवेला स्थानीयसँग भेट्नै भ्याइनभ्याई छ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै बझाङमा राजनीतिक दलहरुले घरदैलो अभियानलाई तीव्रता दिन थालेका छन् । 

बझाङमा प्रमुख नेकपा एमाले एक्लै र सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा उम्मेदवार उठाएका छन् । उनीहरु जिल्लाका ग्रामीण बस्तीहरुमा पुगेर विकास गर्ने पुरानै आशा देखाउँदै मतदातासँग मत मागिरहेका छन् । यतिबेला आफ्ना दलका उम्मेदवारलाई जिताउन कार्यकर्ताहरु पनि विभिन्न आश्वासन देखाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । 

उम्मेदवारहरु आफ्ना कार्यकर्तासहित घरघर तथा खेतबारीमै गएर मत मागिरहेका छन् । बझाङका किसान अहिले गहुँ भित्र्याउने र धानको बीउ छर्नमा व्यस्त छन् । मौसममा आएको परिवर्तनसँगै साँझ पख हावाहुरीसँगै पानी पर्ने भएकाले जिल्लाका किसान बिहानैदेखि गहुँ काट्ने र चुट्ने काममा व्यस्त छन । गहुँ भित्र्याउने चटारोले मतदाता घरमा नभेटिएपछि उम्मेदवारहरु खेतमै गएर गहुँ काट्न चुट्न र धान छर्न सहयोग गर्दै मत माग्न थालेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुर्याएर बझाङलाई उज्यालो बनाउने, जिल्लाभर सडक सञ्जाल पुर्याउने, निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने, व्यावसायिक र रोजगारमूलक शिक्षा, जिल्लामा आर्थिक उपार्जन हुने गरी विकास निर्माणलाई अघि बढाउने, बझाङमा सुविधासम्पन्न अस्पताल नभएकाले गुणस्तरीय स्वास्थ्य सेवा दिने अत्याधुनिक अस्पताल खोल्नेलगायत एजेन्डा बोकेर उनीहरु मत मागिरहेका छन् । 

आफूहरु खेतीपातीमै व्यस्त भएको र राजनीतिक दलका उम्मेदवारहरु खेतमै आएर मत माग्न थालेका बुङगल नगरपालिका २ का कलक धामीले बताए । उनले भने, ‘गाँउघरमा चुनावी रौनक निकै बढेको छ । हामी गहुँ भित्र्याउनमै व्यस्त छौँ । यसपालि तपाईको भोट हाम्रो पार्टीलाई है भनेर उम्मेदवारहरुसँगै उनीहरुका कार्यकर्ताले खेतीपाती बटुल्ने काममा सहयोग गर्न थालेका छन् ।’ उम्मेदवारहरु विकास निमार्णका विभिन्न आश्वासन दिएर मत मागिरहेकोे धामीको भनाइ छ । 



मतदाता भन्छन् : पार्टी होइन व्यक्ति हेरिन्छ 

निर्वाचनको मिति नजिकिएसँगै बझाङका बजारदेखि ग्रामीण भेगका चिया पसल, खेतबारी र चोक–चोकमा कसलाई भोट हाल्ने भन्ने बहस सुरु हुन थालेको छ । चुनावी प्रचारप्रसारका लागि उम्मेदवारहरु कार्यकर्ता तथा शुभचिन्तकसहित गाउँ पसेसँगै मतदाताबीच पनि विकासप्रेमी नेतालाई खोज्न चुनावी बहस सुरु भएको छ । 



अघिल्ला निर्वाचनमा कुन दल रोज्ने भन्ने विषयमा मतदाताबीच हुने गरेको बहस यसपालि भने कुन नेतालाई भोट हाल्ने भन्दै जनस्तरमा बहस हुन थालेको छ । अहिले मतदाताले हाम्रालाई नभई राम्रालाई मत हाल्नुपर्ने भन्दै बहस गर्न थालेका छन । 

यसअघि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम व्यवहारको समीक्षा गरेर गाउँका लागि केही गर्न सक्ने उम्मेदवारलाई भोट दिने जयपृथ्वी नगरपालिका वडा नं. ८ का रामभक्त बोहराले बताए । 

यसअघि जिताएका उम्मेदवारले जनताको विकास गर्ने भन्दा पनि आफ्नै कार्यकर्तालाई काखी च्याप्ने गरेका कारण जिल्लाले विकासमा फट्को मार्न नसकेको मतदाताको बुझाइ छ । यसपालि भने त्यस्तो गल्ती नगर्ने र जिल्लाको विकासका लागि लागिरहने विकासप्रेमी नेतृत्व छान्नुपर्ने केदारस्युँ गाउँपपालिका ७ भामचौरका लोकेन्द्र धामीले बताए । 

उनले भने, ‘पहिले मतदान गर्दा हामी पुर्खाहरुको पालादेखिकै यही पार्टीमा भोट हालेर आएका हौँ । अब पनि यसैमा भोट हाल्छौँ भनेर मतदान गरिन्थ्यो । तर, अब त्यो समय छैन, हाम्रालाई नभई राम्रालाई विकास र सुशासन कायम गर्ने नेतालाई मतदान गरिन्छ ।’

मतदाताहरुले नेताहरुबाट आफूलाई मत नदिएकै कारण विभिन्न खालका दुव्र्यवहार भोग्ने गरेकाले जुन दलको भए पनि जनतालाई सम्मान र संरक्षण गर्ने तथा गाउँको विकासका लागि भिजन र दीर्घकालीन योजना भएको व्यक्तिलाई भोट दिने स्थानीयको मत छ । 
 

  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार १८:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया