समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । 

राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताएका हुन् । 

उपराष्ट्रपति पुनले भने, ‘सूचनाको उज्यालोबाट मात्रै सुशासन, असलशासन वा हामीले चाहेको जस्तो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिन्छ ।’ 

सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्दै उनले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारबाहीबारे सहज सूचना पाउने राज्यमा मात्रै सुशासन र असल शासन कायम हुने बताए । 

उनले लोकतन्त्रमा आमजनता सूचनाबाट सुसूचित हुनुपर्ने बताउँदै राज्यले सार्वजनिक महत्वबारे सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्नेमा जोड दिए । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आर्थिक वर्ष ०७७–०७८ मा सम्पादित प्रमुख कार्यमध्ये आयोगमा दर्ता भएका सबै ७५३ पुनरावेदनउपर कारबाही गरेको जानकारी दिए । 

सो अवसरमा आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझी, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९’ प्रदान गरेको छ । त्यसैगरी, विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी (सूचना अधिकारी) ई. निर्मला लामा, दुर्गाप्रासद शर्मा, राजु आचार्य, सत्य नारायण हुजदार र गोकर्णराज वाग्लेलाई ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९’ प्रदान गरिएको छ । 



त्यस्तै, आयोगका कर्मचारी उपसचिव विश्ववन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायवसुब्बा हेमन्त रिजाललाई पनि आयोगले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही ३५ हजार रहेको छ ।



  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार २०:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया