नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् ।
रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।
काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, बेरोजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ ।
‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् ।
शिक्षाको गुणस्तर बढाउनेतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ,’ उनले भनिन् ।
गृहणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विदुर पुरुषहरूको लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैं घण्टा काठमाडौंका बजार खुल्ला गर्ने गरी पहल गर्ने बताइन् ।
‘यसका लागि म एक्लैले सक्दिनँ । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौंको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु,’ सिंहले भनिन् ।
काठमाडौं सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौंका मतदाताको शिर निहुरिने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।