बहुमतप्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद देख्नै नहुने भयो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । काठमाडाैंमा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले सबैतिरबाट जनमोर्चामाथि आक्रमण भइरहेको बताए । 

आजभन्दा चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाई बहुमत पाएर नेकपा एमाले र माओवादी मिलेर सरकार चलाए । तर, पछि त बहुमतप्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने समस्या भयो,’ केसीले भने । 

ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’

अध्यक्ष केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।

‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने । 

गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौँ । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने । 



आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए । ‘हामीले धेरै ठाउँ ताकेका छैनौं । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्‍यो । के कुरा ढाँट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’ केसीले भने । 

गठबन्धनभित्रका दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ । 



  • प्रकाशित मिति : वैशाख २३, २०७९ शुक्रबार १६:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया