नेपाली महिला शृङ्खला
पुरुषकाे कपालमा दिविसाको कैंची

प्रसंग करिब एक वर्ष अगाडिको हो । दिविसा शर्माको सलुनमा ग्राहकको बाक्लै घुइँचो लाग्न थालिसकेको थियो । आक्कलझुक्कल मात्र होइन, नियमित आउने ग्राहक पनि बाक्लै थिए । ‘उसले राम्रो कपाल काट्छे’ भनेर चर्चा सुरु भइसकेको थियो । उनको ख्याति र व्यस्तता पनि दिनदिनै बढिरहेको थियो । 

यत्तिकैमा एक दिन उनको सलुनमा एकजना ‘स्मार्ट’ ग्राहक आए । उनको कपाल काट्न दिविसा तयार भइन् । हुन त उनले एकजना पुरुषलाई पनि स्टाफ राखेकी थिइन्, तर उनी त्यस दिन कुनै कारणवश काममा आएका थिएनन् । 

दिविसा ग्राहकको कपाल काट्ने तयारी गर्न जुटिन् । यता ती सेवाग्राही एक्कासि भड्किए । अनि भने, ‘तिमीले काट्ने हो ? त्यसो भए पर्दैन । म अन्तै जान्छु ।’ 

सेवाग्राहीले आफ्नो काम पत्याएनन् कि जस्तो लाग्यो दिविसालाई । ती मानिसलाई थप विश्वस्त पार्दै भनिन्, ‘म राम्रो काट्न सक्छु, जस्तो भन्यो उस्तै, चिन्ता नलिनू ।’ तर ती स्मार्ट मानिसले उनको कुरा सुन्नै चाहेनन् । दिविसा सो घटना सम्झिँदै भन्छिन्, ‘मेरो काम नपत्याएको होला भनेको त होइन रहेछ, महिलाले कपाल काट्यो भने साइत पर्दैन पो भने ।’

‘महिलाले महिलाको कपाल काट्दा साइत पर्ने, पुरुषको काट्दाचाहिँ साइत नपर्ने पनि हुन्छ ?’ ती मानिससँग प्रश्न गर्न मन थियो दिविसालाई । तर ग्राहक भड्किएलान् भनेर मुखमा आइसकेको जवाफ घाँटीमै दबाइन् ।

समझदारीमा कुरा गरेपछि ग्राहकले कारण पनि बताए । खासमा ती मानिसले कपाल नकाट्नुको कारण यस्तो रहेछ– एकपटक कपाल काटेको दिन उनी सवारी दुर्घटनामा परेछन् । दोस्रोपटक पनि कपाल काटेकै दिन भन्सारमा सामान समातिएछ । संयोगवश उनले ती दुवै दिन उनले महिलाको हातबाट आफ्नो कपाल कटाएका रहेछन् । 



०००

दिविसाको सलुन पुग्दा उनी एक अधबैंसेको कपालमा कैैंची चलाइरहेकी थिइन्, एकदम पोख्तसँग । तर, कैंची चलाउन अभ्यस्त हुन त्यति सजिलो थिएन । दिनदिनै फेरिँदै गएको फेसनसँग परिचित हुनुपथ्र्यो । सेवाग्राहीको रुचि तथा चाहनालाई पनि ध्यान दिनुपथ्र्यो । त्यसका लागि उनले ठूलो पापड बेलिन् ।



तीन वर्ष भयो २७ वर्षे दिविसाले काठमाडौं मलमा आफ्नै सलुन सञ्चालन गरेको । केही मानिसले आफ्नो क्षमता स्विकार्न नसकेकोमा उनको चित्त दुख्दैन । बरु तिनीहरूको चेतनाप्रति सहानुभूति प्रकट गर्छिन् उनी । 

‘आफैं बिजनेसम्यान रहेछन्, आफैं अन्धविश्वासी कुरा गर्छन्, कसरी काम गर्दा हुन् ! खासमा ती मानिसले साइत पर्दैन भन्नुको मतबल महिलाको दक्षता र क्षमता स्विकार्न नसकेको हुनुपर्छ,’ शंका व्यक्त गर्छिन् दिविसा । 

ती ग्राहकलाई भोलि आउनुस् भनेर फिर्ता पठाइन् दिविसाले । उनी भन्छिन्, ‘ती मान्छे फर्किएर पनि आएनन्, त्यसपछि त्यस्ता सेवाग्राहीको सामना पनि गर्नुपरेको छैन ।’ 

यसरी मोडियो बाटो

ब्याचलर पढ्दासम्म दिविसाको मस्तिष्कमा व्यवसायको कुनै क्लु अंकुराएको थिएन । आफैंले ऋण गरेर सलुन सुरु गर्नुपूर्व उनका सपना ठीक विपरीत थिए । सपनाकै मार्गमा हिँडेकी हुन्थिन् भने अहिले कुनै प्रतिष्ठित बैंकको म्यानेजर हुनुपर्ने हो । तर, धादिङ गजुरीबाट काठमाडौं आउँदाआउँदै परिस्थिति बदलियो । गन्तव्य पनि फेरियो ।

चिनेजानेका आफन्त सबै बैंकिङ क्षेत्रमा संलग्न थिए । परिवारजन र शुभचिन्तक पनि सके सरकारी नसके पनि बैंकमा जागिर खाएको हेर्न चाहन्थे । 

उनलाई पनि बैंकको जागिर नै सबैभन्दा उत्तम हो भन्ने नलागेको होइन । ‘जागिरलाई एक किसिमको सुरक्षित र भरपर्दो आम्दानीको स्रोत मानिन्थ्यो,’ दिविसा सुनाउँछिन्, ‘मेरो मस्तिष्कमा पनि जागिर नै खानुपर्छ भन्ने छाप थियो, तर अहिले मेटियो ।’

दिविसाकी दिदीले ब्युटी पार्लर सिकेकी थिइन् । तर, बीचमा उनको सिकाइ रोकियो । काठमाडौं आउँदा दिविसाको बिहानको समय खाली थियो । त्यसपछि उनले दिदीको सल्लाह मानेर ब्युटी तालिम सुरु गरिन् । 

‘पार्लर सिक्दै गर्दा मेरो मन यसरी परिवर्तन भयो जसरी मैले यसबाहेक अरू कुनै काम नै गर्न सक्दिनँ, पेसा अँगाल्दाको क्षण सम्झँदै उनी भन्छिन्, ‘सिकेको ठाउँमा धेरै व्यापार र सम्भावना भएको देखें, मलाई पनि सिकेपछि गर्न सक्छु भन्ने लागिहाल्यो ।’

भोटाहिटी र दरबारमार्गका केही नाम चलेका सलुन/पार्लरमा काम गरेपछि उनको आत्मविश्वास बढ्यो । ‘आफैंले सीप जानेपछि किन अरूकोमा काम गर्नु पर्यो, आफैंले व्यवसाय गर्न पाए,’ सलुन सञ्चालन गर्नुपूर्व यस्तै सोचेकी थिइन् उनले । 

यो कुरा उनले सोचेको केही समयमै गरेर देखाइन् । बिहानको समय सदुपयोग गरेको सीपले दिविसाको सारा समय उपयोगी बनाएको छ । आज उनी आफ्नै सलुनको मालिक बनेकी छिन् । महिला पुरुष गरी जम्मा चारजनाको रोजगारदाता पनि हुन् उनी । 

तर, उनलाई यतिले मात्र पुगेको छैन । ‘सिक्दै छु, सिकेर सकियो जस्तो लागेको छैन । एकपटक विदेश गएर त्यहाँको सीप पनि सिक्ने रहर छ । अझ प्रोफेसनल हुन मन छ । अझै जनशक्तिलाई रोजगार दिन मन छ ।’ भविष्यको योजना यसरी बनाएकी छिन् उनले ।

‘सीप र सिकाइ जति जानेको छु भन्दा पनि पर्याप्त हुँदैन,’ आफ्नो अनुभवले यस्तै बुझाएको छ उनलाई । तर, समयको मागअनुसार उनी जुनसुकै ‘स्टाइल’मा अभ्यस्त भइसकेकी छिन् । यो कुरा ग्राहकको भीड र सन्तुष्टिले प्रमाणित गरिदिन्छ ।

कैंची चलाउँदा गाली

कैंची चलाउन सिकेपछिका एक-दुई घटनाले उनलाई बेलाबेलामा झसंग बनाउँछ । भर्खरभर्खर कैंची चलाउन थालेकी थिइन्, एकजना चिनेजानेकै भाइको कपाल काट्नपर्ने भयो । पहिले त उनले नाइँ भनिन्, तर भाइले निकै कर गरेपछि आँट गरिन् । आफूलाई पनि सिक्ने मौका मिल्यो । उनी भन्छिन्, ‘भाइ त हो, बिग्रिए पनि कन्भिन्स गर्न सक्छु जस्तो लाग्यो ।’

विडम्बना, सोचेजस्तो भएन । काम बिग्रियो । भाइ आवेसमा आइहाले । आफैंले कर गरेर काम लगाएर पनि बिग्रियो भनेर भाइ बम्किए । यही घटनाले हो उनमा सिकेरै छाड्ने इगो पलाएको । 

‘त्यो भाइ त्यसरी नबम्किएको भए म ब्युटिसियन मात्र हुन्थें कि !’ इनडोर र आउटडोर ब्युटिसियनमा रमाइरहेकी दिविसा सुरुवाती दिन सम्झिन्छिन् ।

अन्ततः उनले सिकिन् पनि । कैंची ज्ञानसँग आफूलाई एकाकार गराइन् ।

कपाल मात्र होइन, दाह्री काट्ने काममा पनि उनी उत्तिकै सिपालु छिन् । यो अनुभवमा भने उनले गाली खानु परेन । भन्छिन् ‘साथीहरूलाई बोलाएर दाह्री काट्देकी थिएँ । उनीहरूले पनि खुलेर सहयोग गरे ।’ 

सेलेब्रिटी नै सेवाग्राही

कलाकार, गायक, गायिका, मोडेलदेखि लिएर विद्यार्थी नेता पनि दिविसाको कैंची कलाको फ्यान भएका छन् । त्यसैले त उनीहरू त्यहाँ धाइरहन्छन् । नेपाली सिने जगत्की चर्चित नायिका करिस्मा मानन्धरले पनि दिविसाको कामको प्रशंसा गर्न भ्याएकी छिन् । यस्ता प्रशंंसाले थप जिम्मेवारीबोध गराउँछ दिविसालाई । भन्छिन्, ‘यो भरोसा जसरी पनि जोगाइराख्नुपर्छ, त्यो मेरो कर्तव्य पनि हो ।’

समाजमा उनको पेसा प्रतिष्ठाको विषय बनेको छ । आर्थिक हिसाबले व्यापार पनि निकै राम्रो छ । व्यापार नै नभएको दिनमा पनि आठ-दस हजार कहीँ नजाने दिविसा बताउँछिन् । 

‘यहाँ पैसा जति पनि छ, सिजनमा दैनिक तीस–चालीस हजार पनि हुन्छ, तर मेहनत गर्न सक्नुपर्यो,’ पेसागत समस्या देखाउँदै उनले भनिन्, ‘बसेर मात्र हुँदैन, बिहेको सिजनमा बिहानैदेखि काममा लाग्नु पनि पर्छ ।’

उनी यो काममा निकै खुसी छिन् । तीतामीठा अनुभव सँगालेर व्यवसायले तेस्रो वर्ष पार गर्दै छ । ‘सानैबाट आमाको सारी काटेर गुडिया बनाउने र ऐना हेरेर कपाल कोर्ने-बाट्ने गर्थें,’ उनी भन्छिन्, ‘त्यो सब यो पेसामा लाग्ने सुषुप्त चाहना तथा लक्षण रहेछ । अहिले आएर बुझ्दै छु ।’ 

चारजनालाई रोजगारी र मासिक ३३ हजार भाडा तिरर पनि राम्रो नाफा लिन सकेको बताउँछिन् दिविसा । आफ्नो हातको सीप हो, एकपटक लगानी गरेपछि नाफा लिइरहन पाइने भएकाले अरू कामभन्दा राम्रो भएको उनको अनुभव छ । 

  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १३:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया