आचारसंहिताको धज्जी उडाउँदै लालकिशोरको ‘रोड सो’

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७८’ जारी गरे पनि यसको पालना भने कुनै पनि उम्मेदवारले गरिरहेका छैनन् ।
 
पाँचदलीय सत्तारुढ गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार लालकिशोर साहले उम्मेदवारी दर्ता गरेकै दिनदेखि विदेशी नम्बर प्लेटको चारपाङ्ग्रे सवारीसाधनको प्रयोग गरिरहेका छन् । 

निवर्तमान नगरप्रमुखसमेत रहेका साहले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै भारतीय नम्बर प्लेटको सवारीसाधन निर्वाध रुपले प्रयोग गरिरहेको देखिएको हो ।
 
शनिबार पाँचदलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा सहभागी हुनुअघि उनी नगरभित्र रोड सो गरेका थिए । रोड सोमा नगरप्रमुख पदका उम्मेदवार साहले भारतको उत्तर प्रदेश राज्यको युपी १४ इएक्स ७०३२ नम्बरको गाडीमा हात हल्लाउँदै नगरबासीलाई अभिनन्दन गरेको देखिएको थियो । 

निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता २०७८ को बुँदा नम्बर १३ मा सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत निर्वाचन प्रचारप्रसारको काम अथवा निर्वाचनसम्बन्धी अन्य गतिविधिमा उम्मेदवार अथवा राजनीतिक दललाई विदेशी नम्बर प्लेटको सवारीसाधनको प्रयोग गर्न अनुमति नदिइएको स्पष्ट उल्लेख छ ।

 
तर, सो आचारसंहिताको कुनै ख्याल नै नगरी उम्मेदवार साहले नगरभित्र रोड सोको आयोजना गर्नु सानाका लागि ऐन र ठूलाका लागि चैनसरह रहेको स्थानीय प्रकाश मिश्रले बताए । 

उनले गठबन्धनका उम्मेदवार साहले आचारसंहिताको पालना नगर्दा अन्य उम्मेदवारले पनि यसको पालना गर्नुपर्ने आवश्यकता नै नरहेको जिकिरसमेत गरे । 
साहले दैनिक रुपमा आयोजना गरिरहेको चुनावी कार्यक्रममा करिब आधा दर्जनको संख्यमा भारतीय नम्बर प्लेटकै गाडीको प्रयोग गरिरहेका छन् ।
 
साहबाहेक जनकपुरधाममा अन्य राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै चुनावी प्रचारप्रसार गरिरहेका छन् । आचारसंहिता विपरीतका गतिविधि यहाँका प्रायः सबै उम्मेदवारले गरिरहेका छन् ।





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार २२:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया