‘भर्खरै जन्मेको शिशु रोएको आवाजसँग जो खुसी हुन्छिन् पर्दै दंग
बिरामीको अन्तिम घडीमा मोनिटरको टु..टु... आवाजसँग
जो दुखी हुन्छिन् हुँदै झसंग
हो उनी हुन् नर्स ।।’
जब, यो कविता वाचन सुरुवात भयो, हलमा उपस्थित नर्सहरू एकमेसै ताली बजाउन थाले । लाग्थ्यो त्यहाँ उपस्थित सबै नर्सहरूका पीडा, वेदनाका साथै उनीहरूका पेशागत उमंग यसै कविताले बोकेर ल्याएको छ । कविता वाचन गर्दै थिइन्, नर्स कञ्चन रावल ।
‘जस्ले जन्मको खुसी र मृत्युको दुःख सहन्छिन् एकैसाथ
जो खटिन्छिन् हरेक समय नभनी दिनरात
न त रिसराग छ, न गर्छिन् भेदभाव
निःस्वार्थ सेवाको बदला चाहन्छिन् स्वास्थ्य लाभ ।
हो उनी हुन् नर्स ।।
मुखमा माक्स सिरमा क्याप अनि ग्लोभ्स हुन्छ हातमा
रोग हटाउने सकारात्मक सोच हुन्छ साथमा
बिरामीको हेरचाह गर्ने हुन्छ अनौठो ज्ञान
भन्छन् उनी बिरामीको लागि धर्तीको भगवान
हो उनी हुन् नर्स ।।’
वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा विश्व नर्स दिवसका अवसरमा आयोजित कार्यक्रममा रावल कविता वाचन गर्दै गइन्, सहकर्मी साथीहरूमा पेशागत उमंग छाउँदै गयो । कविताका हरेक हरफमा उनका सहकर्मी नर्सहरू ताली बजाउँथे, मुस्कुराउँथे ।
हुन पनि यो पेशा त्यति सजिलो भने होइन । र, रावलाई पनि नर्स बन्न त्यति सहजै पनि भएन । नर्सिङ विषयमा स्नातक अध्ययन पश्चात हाल उनी प्रदेश अस्पतालमा कार्यरत नर्स हुन् ।
वीरेन्द्रनगरमा बसोवास गरिरहेको मध्ययम परिवारमा उनको जन्म भयो । बालापनमा चिकित्सक बन्ने सपना बुनेकी रावलले पारिवारिक आर्थिक परिस्थितिले नर्सको पेशामा मोडिइन् । आजभन्दा २६ वर्ष अगाडि जन्मेकी रावल दलबहादुर रावल र मंगली रावलको साइँली सन्तान हुन् । आमा-बुवा सरकारी कर्मचारी थिए । उनीहरूले रावलको चिकित्सक बन्न सपना पूरा गर्न सक्ने अवस्था नभएपछि उनी आफू त्यही पेसा सुहाउँदो नर्स बनिन् ।
'नर्सको पेशामा ओठमा मुस्कान, मनमा पीडा हुन्छ । यो पेशा नै यस्तै हो' उनी सुनाउँछिन्, ‘भर्खरै मज्जाले हाँसीखुसी कुरा गरिरहेको बिरामी छिनभरमै शवमा परिवर्तन हुन्छ ।’
उनको मानसपटलमा यस्ता कैयौँ घटना छापिएका छन् । त्यसमध्ये उनलाई विशेष लाग्ने एउटा घटना छ । पेशागत सेवा प्रवाहका क्रमका नियमित उपचार गरिरहेको एक बिरामीको मृत्यु देख्नुपर्यो, उनले ।
करिब १०–१२ दिन उनले ती बिरामीको सेवा गरिन् । भेन्टिलेटरमा रहेको बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो । बिरामीमा आस जागेको त थियो नै, सँगै उनमा पनि ।
तर, अन्तिम दिन ती बिरामीले श्वास छाडे । यो दिन नर्स रावल नियमित सेवामा थिइनन् । अस्पतालबाट आएको खबरले सेवा बिदामा रहेकी उनलाई निकै तनाव दियो । उनले आफूलाई यो घटनाले धेरै दिन बिचल्लित बनाएको सुनाइन् ।
पीडा बोकेर छट्पटाउँदै अस्पतालको शैयामा पुगेका बिरामीहरू जब मुस्कान बोकेर घर फर्कन्छन् त्यसैबेला रावल जस्तै नर्सहरूका मनमा पेशागत उमंग छाइदिन्छ । उनी भन्छिन्, ‘यो पेशा सेवाको हो र, यहाँ छुट्टै सन्तुष्टि छ ।’
उनको कविताको बाँकी अंश:
‘बच्चा बूढा जस्तो सुकै बिरामीलाई हेर्छिन्
आफ्नै आमा, बच्चा सरी डाइपरसमेत फेर्छिन्
सबै धर्म सबै जाति हेर्छिन् एकै नासले
गर्छिन् माया अनि आदर बिना करकापले
हो उनी हुन् नर्स ।।
जस्तो सुकै परिस्थितिमा नि अटल रहन्छिन्
सबै जनाको भनाई चुपचाप सहन्छिन्
निराश भएको बिरामीलाई हाँस्न सिकाउँछिन्
धेरैलाई पर्छ यस्तो भनि बाच्न सिकाउँछिन्
हो उनी हुन् नर्स ।।’
आफ्नो फ्रस्टेसन, आफ्नो पीडा सबै थोक लुकाउँछिन्
जब अस्पताल टेक्छिन्, बिरामी देख्छिन् अनि आफ्नो मुस्कान फुकाउँछिन्
यो अद्भूत अनि अनौठो स्वभाव मात्र पाउँछ उनीमा
बिरामी सञ्चो भएपछि खुसी छाउँछ उनीमा
हो उनी हुन् नर्स ।।
चौबिसै घण्टा खटेर सेवा बिरामीलाई दिन्छिन्
न कुनै सम्झौता न कुनै उपहार बिरामीबाट लिन्छिन्
पढेकै उनी सेवा दिन निःस्वार्थ सेवा गर्छिन्
अन्तिम साससम्म नि उनी सेवा दिँदै मर्छिन्
हो उनी हुन् नर्स ।।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।