रंगेलीमा कांग्रेस कार्यकर्ताको हो-हल्लापछि रोकिएको मतगणना अझै सुरु भएन

मोरङको रंगेली नगरपालिकामा एमालेका उम्मेदवार दिलीप बगडीयाले मतान्तर फराकिलो बनाउँदै लाँदा नेपाली कांग्रेसका कार्यकर्ताले हो-हल्ला गरेपछि रोकिएको मतगणना अझै सुरु भएको छैन । 

एमालेविरुद्ध पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गरेपनि आफ्ना उम्मेदवारको मत कम आएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले हो-हल्लासहित नाराबाजी गरेपछि स्थगित भएको मतगणना अझै सुचारु नभएको जनाइएको छ । 

शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गरिएको थियो । 

मुख्य निर्वाचन अधिकृत रामहरी शर्माले सहमति नजुट्दा मतगणना अनिश्चित बनेको फरकधारलाई बताए । 

‘मतगणनामा सहमति जुटेको छैन । यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेका छौँ’ उनले फरकधारसँग भने, ‘निकास निस्किएपछि पुनः मतगणना सुरु हुन्छ । कति बेलादेखि हुन्छ भन्न सकिन्न ।’ 

रंगेलीको निवर्तमान मेयरसमेत रहेका बगडीयाले पाँच वर्षमा गरेको कामका कारण निकै लोकप्रिय छन् । सोही कारण उनले गठबन्धनलाई समेत पछि पार्दै फराकिलो मतान्तर पारेका छन् । 



शनिबारसम्मको मतगणनामा एमालेबाट मेयरका उम्मेदवार बगडीया प्रतिष्पर्धाभन्दा ५६४ मतान्तरले अगाडी छन् । ३१३२ मत गणना हुँदा बगडीयाले १६३१ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोदराज धिमिरेले १०६७ मत ल्याएका छन् । उपमेयरमा पनि एमालेकै भूमा पराजुली झण्डै चार गुण मतान्तरले अगाडी छिन् । 



उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार जसपाका पन्नालाल मण्डलले ४२२ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १९:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया