बलात्कारलाई मजाक बनाएको भन्दै कार्टुनको आलोचना
कार्टुन पनि मजाक होइन: सायमी

काठमाडौं– शुक्रबार नागरिक दैनिकमा प्रकाशित कलाकार रबिन सायमीको कार्टुनमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । अधिकारकर्मी, कलाकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले बलात्कारलाई मजाक बनाएको भन्दै सो कार्टुनप्रति आपत्ति जनाएका छन् ।  

नायिका केकी अधिकारीले बलात्कारजस्तो विषयलाई मजाक बनाएकोमा खेद प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत विषयको गम्भीरता र संवेदनशीलतातर्फ ध्यानाकर्षण गराएकी छिन् । 

नायिका अधिकारी लेख्छिन्, ‘बलात्कार आफैंमा जघन्य अपराध हो । यसको संवेदनशीलता नबुझी यस किसिमको ठट्टाको सन्दर्भमा बलात्कारलाई प्रयोग गरिएकोमा म खेद प्रकट गर्दछु । भ्रष्टाचार पनि आफैंमा एउटा ठूलो अपराध हो र घोचक रूपमा प्रयोग गरी जनमानसमा यो समाचार पुर्याउने सोचप्रति मेरो कुनै आपत्ति छैन । तर, बलात्कारजस्तो गम्भीर विषयलाई यसरी प्रतिबिम्बको रूपमा प्रयोग नगरियोस् । विषयको गम्भीरता र संवेदनशीलतातर्फ सबैको ध्यानाकर्षण होस् ।’

केकीले गरेको यस ट्विटमार्फत अन्य ट्विटर प्रयोगकर्ताले पनि आपत्ति जनाएका छन् । अधिकारकर्मी अर्चना थापाले केकीको ट्विटलाई समर्थन गरेकी छिन् । त्यस्तै, बोजुबजै नामक ह्यान्डलबाट लेखिएको छ, ‘अस्ति मिटुको मर्म नबुझी त्यसलाई भ्रष्टाचारको अभियानसँग जोड्नुभयो र आज बलात्कारजस्तो विषयलाई वाइडबडी एयरक्राफ्ट हिनामिनासँग । कठै हाम्रा कार्टुनिस्ट र पत्रकार ब्रोहरूको संवेदनशीलता ।’

 



सायमीको उक्त कार्टुनको आलोचना हुने क्रम जारी छ । तर,  काटुनिस्ट सायमीले भने आफू अनभिज्ञ रहेको बताउँछन् । सामाजिक सञ्जालमा भइरहेको सबै कुरा ध्यान दिन नसकिने बताउँदै उनले भने, ‘बलात्कार एउटा अपराध हो, तर कार्टुनमा बलात्कारलाई बिम्बका रूपमा मात्र प्रयोग गरेको हो, बलात्कार भन्नेबित्तिकै महिलासँग मात्र जोडेर हेर्नुपर्छ भन्ने होइन ।’ 



राज्यमाथि गरिएको चिटिङलाई आफूले चित्रमा देखाउन खोजेको भन्दै सायमीले कार्टुनलाई पनि मजाकको रूपमा नलिन आग्रह गरे । ‘कार्टुन भनेको मजाक मात्र होइन, सम्बन्धित विषयमा सोच्न बाध्य पार्नु पनि हो,’ उनले भने, ‘बुझ्नेले पनि सही अर्थमा बुझ्नुपर्यो ।’

  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १५:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया