प्रहरीमाथि ‘गुन्डा नाइके’ दीपक मनाङेका संगीन आरोप

काठमाडौं– राजीव गुरुङ उर्फ दीपक मनाङेले साेमबार सांसदको शपथ ग्रहण गर्न पाएनन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई प्रदेश सभा सदस्यको शपथ गराउन नमिल्ने बताएपछि उनी औपचारिक रुपमा सांसद हुने बाटो हाललाई रोकिएको छ । 

मनाङेले मंसिर १२ गते शपथ ग्रहणको माग गर्दै गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए । उनको निवेदनमाथि बहस गरेपछि गण्डकी प्रदेश सभाले आपराधिक गतिविधिमा संलग्न भएको अभियोगसहित उनीमाथि आदलतमा मुद्दा विचाराधीन रहेको कारण देखाउँदै शपथ नगराउने निर्णय गरेको हो ।

गत मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए । निर्वाचित भए पनि उनले शपथ भने लिन पाएका थिएनन् । दीपक मनाङेलाई पहिलो पुस्ताको डन पनि मानिन्छ ।

२०६४ पछिको राजनीतिक परिवर्तनसँगै उदाएका मनाङे भने आफूलाई डनभन्दा पनि ‘पोलिटिकल वारियर’ भन्न रुचाउँछन् । हालै, प्राइम टेलिभिजनमा ऋषि धमालासँगको अन्तर्वार्तामा मनाङेले आफू गुन्डा नभई ‘पोलिटिकल वारियर’ भएको तर्क दिए । अन्तर्वार्तामा उनले आफूले विद्यार्थी संगठनलाई ‘प्रोटेक्सन’ दिने गरेको पनि सुनाए ।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो । मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय दिइएको थियो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि  पक्राउ गरी जेल पठाइएको थियो ।

अन्तर्वार्तामा मनाङेले आफूलाई गुन्डा भन्ने हो भने आफ्नो बोसलाई पनि गुन्डा भन्नुपर्ने तर्क गरेका छन् । चक्रे मिलनको हात काटेको विषयमा बोल्दै उनले अन्तर्वार्तामा त्यतिखेर आफ्नो बोस गिरिजाप्रसाद कोइराला भएको बताए । आफूलाई गुन्डा भन्दा गिरिजा बाबुलाई पनि गुन्डा भन्नुपर्ने उनको तर्क थियो ।



मनाङेको आपराधिक गतिविधिको प्रमुख क्षेत्र ठमेल मानिन्छ । ठमेलमा डिस्को खोलेर रात्रि व्यवसायमा हात हालेका मनाङेले विस्तारै ठमेल, दरबारमार्ग, नयाँ बानेश्वर, कालिमाटी लगायतका क्षेत्रमा आफ्नो प्रभाव बढाएका थिए ।उनीमाथि संगठित अपराध, ज्यान मार्ने उद्योगबाहेक अवैध सम्पत्ति आर्जन गरेको मुद्धा पनि लागेको थियो ।

अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतले उनीसँग २ करोड ९० लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनी ३ महिना जेल बसेका थिए ।प्रहरीले आफूलाई झुटा मुद्दामा फसाएकै कारण आफू ७ पटक जेल जानुपरेको उनले बताए । मनाङे ४ पटक सार्वजनिक अपराधको मुद्दामा र ३ पटक ज्यान मार्ने उद्योगमा जेल परेका छन् ।



प्रहरीप्रति आक्रोशित देखिएका मनाङेले अन्तर्वार्तामा प्रहरीमाथि विभिन्न आरोप लगाए । नेपाल प्रहरीकै कारण १० वर्षे जनयुद्ध भएको तर्क दिँदै उनले प्रहरीको गफ नसुन्न आग्रहसमेत गरे । निर्मला प्रकरणको विषय खोतल्दै उनले उक्त प्रकरणमा एसपी डिल्लिराज विष्टलाई कर्तव्य ज्यान र बलात्कार मुद्दा लाउनुपर्ने तर्क गरे ।आफैँ गुन्डागर्दीको आरोप खेपिरहेका मनाङेले तत्कालीन काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले गुन्डागर्दी गरेको आरोप पनि लगाए ।

खरेलमाथि गुन्डागर्दीको आरोप लगाउँदै उनले भने, ‘त्यो मान्छे आइजी भा’को भए देश सक्थ्यो । त्योजस्तो मस्ट गुन्डागर्दी गर्ने मान्छे मैले आजसम्म देखेको छैन ।’ मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने व्यवस्था गरेकाले सर्वोच्चले मनाङेलाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो ।

मनाङेको प्रहरीमाथिको आक्रोश यतिमै रोकिएन । उनले भने, ‘जसको ३ वटा आइजी जेलमा छन् । तिनको प्रशंसा गर्ने ?’प्रहरीमा रमेश चन्द ठकुरीजस्तो भ्रष्टाचारी रहेको दलिल दिँदै उनले प्रश्न गरे, ‘४ जना पुलिस अफिसरले मलाई गुन्डा भन्ने ? एउटा इन्स्पेक्टर र एउटा डिएसपीले जे पायो, त्यही गर्न पाइन्छ यो देशमा ?’तत्कालीन एसएसपी विक्रम थापाले आफूलाई संगठित अपराध गरेको भन्दै झुटा मुद्दा लगाएको पनि उनले सुनाए । ‘

कुन जनताले मलाई गुन्डा भन्छ ?’ प्रहरीले नै आफूलाई गुन्डा करार गरेको बताउँदै उनले प्रश्न गरे, ‘एउटा पब्लिक देखाउनुहोस्, जसले मेरो नाममा किटानी जाहेरी गरेको होस् ।’राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, नेपाली कांग्रेस र एमालेसँग समेत जोडिएका मनाङेले आफू राजावादी भएको पनि अन्तर्वार्तामा खुलाए ।

उनले राजा मान्ने भएरै कांग्रेसमा गए पनि गणतन्त्रपछि कांग्रेसले राजतन्त्रको मुद्दा त्यागेका कारण कांग्रेस छाडेको उनले सुनाए ।आफू र आफ्नो टिम प्रधानमन्त्रीलाई सघाउन तयार रहेको बताउँदै उनले आफूले अब नेकपाको सदस्यता लिन लागेको समेत सुनाए । 

  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार ७:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया