वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनाको नतिजा सार्वजनिक भएसम्म धनुषामा प्रमुख चार दलका जिल्ला अध्यक्षहरू पराजित भएका छन् ।
जिल्लामा मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका प्रमुख चारवटै दलका अध्यक्षहरू नतिजा सार्वजनिक हुँदा पराजय भोग्नु परेको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षहरूले हार व्यहोरेका हुन् ।
नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् ।
निवर्तमान मेयर पजियार नेकपा एमालेका सुखदेव यादवसँग ६१३ मतको अन्तरले पराजित भएका छन् । सुखदेवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा पजियारले भने ७ हजार ३०० मत मात्रै ल्याउन सकेका हुन् ।
उता, सबैला नगरपालिकाको मेयरमा उठेका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा पुगेका छन् ।
सबैलामा माओवादी केन्द्रका कारीराम यादव ४ हजार २१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार २७६ मत प्राप्त गरे ।
त्यस्तै, एमालेका जिल्ला अध्यक्ष साह भने ३ हजार ५८१ मतमै सीमित हुन पुगेका छन् ।
धनुषाधाम नगरपालिकाको मेयरमा उठेका नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्र यादव (दीपक) पनि तेस्रो नम्बरमा सीमित भएका छन् । त्यहाँ नेपाली कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् ।
मण्डल ४ हजार ७१८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याए ।
त्यस्तै, देवेन्द्र यादव (दिपक) ले ३ हजार २५९ मत मात्र पाउन सकेका छन् ।
जनता समाजवादी पार्टी नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकाको मेयरमा पराजित भएका छन् ।
यादवलाई नेपाली कांग्रेसका विशेश्वर यादवले १ हजार २८ मतको अन्तरले पराजित गरेका हुन् ।
कमला नगरपालिकामा विशेश्वरले ३ हजार ८८७ मत ल्याएर निर्वाचित हुँदा पशुपतिले २ हजार ८५९ मत मात्र ल्याउन सकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।