भ्रष्टाचारीलाई समातेर अख्तियारको जिम्मा लगाउँछु : नवनिर्वाचित नगरप्रमुख हमाल

कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन्। 
आइतबार धन्यवाद यात्रापछि सम्बोधन गर्दै उनले भने, ‘धनगढीमा भ्रष्टाचार भएको सूचना मेरो ह्वाट्स एप नम्बरमा पठाउनु होला। समातेर अख्तियारको जिम्मा लगाउँछु। अब भ्रष्टाचारीलाई मेयरले छोप्छ।’

धनगढी उपमहानगरपालिकाको कार्यालय परिसारबाट सुरु भएको यात्रा ट्राफिक चौराहासम्म गएको थियो। चौराहामा नगरवासीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउने बताएका हुन्। धनगढीको विकासका लागि सबैको साझा नगर प्रमुख भएर काम गर्ने तर्क उनको थियो।

आइतबार सार्वजनिक भएको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजार भन्दा बढी मत अन्तरले विजयी भएका हुन्।

२०७४ को निर्वाचनमा कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले पराजित गर्दै विजयी भए। हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।



यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली कांग्रेस ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो।




 

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १९:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया