कैलालीको धनगढी उप–महानगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई निजी अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीचको बैठकले यस्तो सहमति गरेको हो ।
उपमहानगरभित्रका निजी अस्पतालमा मंगलबार उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति भएको हो । सबै निजी अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको उपमहानगरले जनाएको छ ।
‘७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत छुट दिने तथा औषधिमा समेत ५ प्रतिशत छुट दिने’ सम्झौतापत्रमा उल्लेख छ ।
ज्येष्ठ नागरिकलाई सहुलियत दिनका लागि धनगढी उपमहानगरपालिकाले परिचयपत्र उपलब्ध गराउनेछ । ज्येष्ठ नागरिकहरूले बिहान १० बजेदेखि दिउँसोको १ बजेसम्म उक्त सेवा प्राप्त लिन सक्ने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।