तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले स्थानीय चुनाव दलीय आधारमा नभई व्यक्तिगत क्षमता र योग्यताको आधारमा गर्नुपर्नेमा माग गरेको छ ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय सरकारले विकास, सफाई, स्वास्थ्य, शिक्षा, व्यापार, दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वरोजगारीमा वृद्धि तथा कृषि र पशुपालन, स्थानीय भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने भएकाले पार्टीभन्दा योग्य व्यक्तिमा जोड दिनुपर्ने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘स्थानीय तह मूलतः स्थानीय विकाससँग सम्बन्धित तह भएको हुँदा यसको निर्वाचन राजनीतिक दलको आधारमा नभई व्यक्तिको क्षमता, दृष्टि तथा जनमानसमा विश्वसनीयताको आधारमा गरिनुपर्ने हाम्रो पार्टीको मान्यता हो।’
निर्वाचनलाई अझ विश्वासिलो र निष्पक्ष बनाउन इलेक्ट्रोनिक मतदान तथा निर्वाचन आचारसंहिताको पालनाको सुनिश्चितता आवश्यक भएको ठहर तमलोपाले गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।