अझै पाँच पालिकाको नतिजा आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । 

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । 

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा रहेका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डंगोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् । 

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा रहेका छन् । प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी कांग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेका छन् ।

रौतहटको गरुडा नगरपालिकाको प्रमुखमा एमालेका कन्थमनीप्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि रहेका छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेका छन् । रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । 



एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि रहेका छन् । उपप्रमुखमा कांग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्तिदेवीले तीन हजार २७० मत प्राप्त गरेका छन् ।

सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । 



एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ । 

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार २१:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया