निजगढ विमानस्थल रोक्ने सर्वोच्चको आदेशले गम्भीर शंका उत्पन्न भएको छ : युवा संघ
फाइल तस्वीर

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएको छ ।

उसले शुक्रबार एक विज्ञप्ति निकाल्दै फैसलाबाट शक्ति पृथकीकरणको सिद्धन्तविपरीतको क्षेत्राधिकारमाथि अतिक्रम गर्ने गलत परम्पराको थालनी भएको बताएको छ । फैसलाले नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावना माथि नै गम्भीर आँच पुर्‍याएको युवा संघको ठहर छ ।

'अदालतको फैसला न्यायिक हिसाबले त्रुटिपूर्ण र राष्ट्रिय हितविरुद्धमा छ । विकास निर्माणको महत्त्वपूर्ण परियोजनामा नै रोक लगाउने खालको न्यायिक सक्रियता अस्वभाविक देखिन्छ । यस्ता फैसलाले न्यायिक प्रणाली प्रतिको आस्था र विश्वासलाई कमजोर बनाउँछ' संयोजक किरण पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ ।

अदालतको फैसला नेपाल र नेपाली जनताको समृद्ध र विकसित हुने सपनामाथिको निर्मम प्रहार हो भन्ने ठहर युवा संघको छ । युवा संघले नेपाली जनाको विकास निर्माण र समृद्धि प्रतिको तीव्र आकांक्षा माथि निर्मम प्रहार हुने गरी गरिएका विकास विरोधी फैसलाको घोर विरोध र भर्त्सना गर्ने जनाएको छ ।

'समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न र नेपाली जनाको विकास निर्माण र समृद्धि प्रतिको तीव्र आकांक्षा माथि निर्मम प्रहार हुने गरी गरिएका विकास विरोधी फैसलाको हामी घोर विरोध र भर्त्सना गर्दछौँ । यो फैसला सर्वोच्च अदालतको मौलिक निर्णयबाट भएको होइन कि भन्ने गम्भीर शंका उत्पन्न भएको छ' विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १४:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया