बागमतीको बजेट सार्वजनिक भएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने

बागमती प्रदेशको बजेट सार्वजनिक भएलगत्तै‌ मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । जसअनुसार नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन् । पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमतिअनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन् ।

स्रोतका अनुसार प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन् । त्यसपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन् । प्रदेश सरकारले १ असारभित्र बजेट प्रदेशसभामा पेस गर्नुपर्ने व्यवस्था छ । 

सरकारको पदावधि एक वर्ष बाँकी रहँदा गत ११ कात्तिकमा नेकपा (एकीकृत समाजवादी)का पाण्डे मुख्यमन्त्री बनेका थिए । त्यसबेला आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए । नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो । 

तर‚ गठबन्धनको भागबण्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्‍यो । सोहीअनुसार पाण्डे मुख्यमन्त्री भए । प्रदेश सभामा अहिले १ सय ९ सांसद छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १६:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया