बागमती प्रदेश : मुख्यमन्त्री फेर्दैमा जाने भयो ५ वर्षको कार्यकाल

बागमती प्रदेशमा सरकारको अस्थिरताको कारण विकासको काम सुस्त छ । प्रदेश सरकार परिवर्तन गर्नमा माहिर बागमती प्रदेशमा यसअघि नै तीनजना मुख्यमन्त्री बनिसकेका छन् । पाँच वर्षको अवधिका लागि चुनिएका मुख्यमन्त्री नै पटक–पटक फेरिरहने प्रवृत्तिको कारण पछिल्लो समय विकासका कामहरु ठप्पजस्तै छ । 

बागमतीमा ५ वर्षको कार्यकालमा मुख्यमन्त्री फेर्दैमा भ्याई–नभ्याई भएको छ । प्रदेशको काम एकातिर छोडेर मन्त्रालय हेरफेर र मन्त्रिपरिषद् बिस्तार गरेको भन्दै बागमती प्रदेश सरकारको आलोचना समेत भइरहने गरेको छ ।

त्यसो त प्रदेशमा पुनः मुख्यमन्त्री फेरिने चर्चा चुलिएको छ । तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पौडेलको अब केही दिन मात्रै कार्यकाल रहेको र अबको बाँकी समय लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा छ । 

बागमती प्रदेशको प्रथम मुख्यमन्त्री नेपा एमालेका डोरमणि पौडेलले लामो समय अर्थात लगभग तीन वर्ष कार्यभार सम्हालेका थिए । ०७४ माघ १८ गते. मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पौडेललाई नियुक्त गरिएको थियो । 
वाम गठबन्धनको साझेदार नेकपा एमालेले पौडेललाई मुख्यमन्त्री बनाउने प्रस्ताव र माओवादी केन्द्रले समर्थन पेस गरेका थिए । सोही अनुसार पौडेल मुख्यमन्त्री बनेका थिए । 

निवर्तमान मुख्यमन्त्री पौडेल एमालेकी अष्टलक्ष्मी शाक्यलाई १० मतले हराउँदै एमाले संसदीय दलको नेतामा चयन भएका थिए । पौडेलले ३४ मत ल्याउँदा शाक्यले २४ मत ल्याएकी थिइन् । त्यसो त पौडेलको मुख्यमन्त्री यात्राले निरन्तरता पाउन सकेन । 

पौडेलको राजीनामापछि बागमती प्रदेशको मुख्यमन्त्रीमा ०७८ भदौ २ गते अष्टलक्ष्मी शाक्य नियुक्त भएकी थिइन् । मुलुककै पहिलो महिला मुख्यमन्त्री तथा बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त शाक्यलाई माधवकुमार नेपाल पक्षकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले दलको नेता चयन गरेको थियो । बागमती प्रदेशमा नेपाल पक्षको नेतृत्व गरिरहेकी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने तयारी स्वरूप नै पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । 



एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएपछि शाक्य पुरानै पार्टीमा रहिन् । एक महिनाभित्र विश्वासको मत नपाएपछि शाक्य मुख्यमन्त्रीबाट हटिन् । 

त्यसपछि बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बनेका हुन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका गरी कुल ५९ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । वर्तमान मुख्यमन्त्री पाण्डेले पनि अब केही दिनमा राजीनामा दिएर इन्द्रबहादुर बानियाँलाई पालो दिने बताइएको छ । 



प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहँदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब कांग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नुपर्ने भएको हो । १ वर्षको समयमा ६–६महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमतिअनुसार अब बानियाँ मुख्यमन्त्री बन्ने पालो आएको हो । बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्दै गरेका कांग्रेस नेता बानियाँले पूर्वसहमति अनुसारको तयारी हुँदै गरेको बताएका छन् ।

स्रोतका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्रीको रुपमा बानियाँ आउँदै छन् । बानियाँ मुख्यमन्त्री बनेसँगै हाल रहेका अन्य मन्त्रीहरुले पनि पालो दिनुपर्ने छ । गत कात्तिकमै मुख्यमन्त्रीको दाबेदार रहेका नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ गठबन्धनको सहमति अनुसार मुख्यमन्त्रीको होडबाट बाहिरिएर राजेन्द्र पाण्डेलाई अघि सारेका थिए ।

कात्तिकमा संघीय सरकारमा मन्त्रालयको भागबण्डाको क्रममा भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्रीको होडबाट बाहिरिएका थिए भने नवगठित एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संसदीय दलको नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्य मन्त्री बनेका थिए । अब बागमती प्रदेशको चौथो मुख्यमन्त्रीको कार्यभार बानियाँले सम्हाल्ने स्रोतले बताएको छ । 
 

  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १७:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया