शिक्षकबाट राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदन दिएर फेरि फर्किए

निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजितकुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको हो । 

कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको हो ।

स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिनका लागि सिंहले राजीनामा पेस गरेका थिए । उनले वैशाख ८ राजीनामा बुझाएपछि अर्को दिन स्वीकृत गरिएको जनाउँदै पत्र काटिएको थियो । राजीनामा दिएको प्रमाण पत्र दिएपछि उनले उम्मेदवारी दिएका थिए । सिंहले ४ सय ९४ मत प्राप्त गरी तेस्रो भएका थिए । 

व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख शाहसँग मौखिक आदेशमा राजीनामा स्वीकृत गरेको पत्र बनाइएको विद्यालयका प्रअ प्रदीपकुमार सिंहले बताए । शिक्षक र विद्यालयका प्रअ दाजुभाइ हुन् । सिंह दाजुभाइ र मेयर शाहबीच काका भतिजाको सम्बन्धसमेत रहेको छ ।

सिंह सिटिइभिटीको १८ महिने कोर्सअन्तर्गत बाली विज्ञान विषय अध्यापन गराउन सहायक प्रशिक्षक पदमा ३ वर्षअगाडि नियुक्त भएका थिए । राजीनामा स्वीकृत भएपछि पदपूर्तिको लागि सूचना प्रकाशन नगरी ठाडो नियुक्ति गरिएको थियो । 

निर्वाचनमा पराजित भएपछि उनले विद्यालयमा सोही पदमा नियुक्तिका लागि निवेदन पेस गरेका थिए । निवेदनको आधारमा विद्यालय व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले पुरानो सेवा सुविधा दिने गरी नियुक्त गर्ने निर्णय गरेका थियो । तर, प्रचलित कानुनअनुसार रिक्त पदमा दरखास्त आह्वान गरेपछि मात्र नियुक्त गर्ने नियम रहेको छ । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १८:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया