विज्ञापन डबिङमा प्रतिबन्ध लगाउने सरकारी तयारी, विदेशी च्यानल क्लिन फिडमा जानुपर्ने

काठमाडौं– विज्ञापन डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्थासहित विज्ञापन नियमन विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएकाे विधेयकको मस्यौदामा डबिङमाथि प्रतिबन्ध लगाउने प्रावधान छ । हाल नेपाली टेलिभिजन तथा फिल्म हलमा नेपाली भाषामा डबिङ गरिएका भारतीय विज्ञापन बज्दै आएका छन् ।

विदेशी च्यानलहरू नेपालमा विज्ञापनरहित (क्लिन फिड) प्रसारणमा जानुपर्ने व्यवस्थासमेत विधेयकले प्रस्ताव गरेको छ । तर, याे व्यवस्था भने सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्र लागू हुनेछ ।

प्रस्तावित विधेयकमा पाठ्यपुस्तकमा विज्ञापन गर्न र कानुनले उत्पादन, विक्री वितरण, उपयोग वा प्रयोग गर्न प्रतिबन्ध लगाइएका वस्तुको कहीँ पनि विज्ञापन गर्न प्रतिबन्ध लगाउने व्यवस्था छ ।

विधेयकमा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने औषधि, जुवा खेलाउने, चिट्ठा किन्न प्रोत्साहन गर्ने, स्वदेशी सामानलाई हतोत्साहित र निरुत्साहित गर्ने विज्ञापनमा प्रतिबन्ध लगाउने व्यवस्था छ । 

कुनै धार्मिक, शिक्षण संस्था भएका, स्वास्थ्य संस्था वा सार्वजनिक क्षेत्रलाई विज्ञापनरहित क्षेत्र घोषणा गर्ने अधिकार स्थानीय तहलाई दिने प्रस्ताव विधेयकले गरेको छ । विधेयकअनुसार, स्थानीय तहले सबै प्रकारका वा निश्चित प्रकारका विज्ञापनमा उक्त क्षेत्रमा रोक लगाउन सक्नेछन् ।

विधेयकले मोबाइल एसएमएसबाट विज्ञापन गर्न समेत रोक लगाएको छ । व्यक्तिको मञ्जुरीविना कुनै पनि सामग्रीको विज्ञापन एसएमएस गर्न वा इमेल गर्न प्रतिबन्ध लगाउने व्यवस्था गर्न लागिएको हो ।



विज्ञापन नियमनका लागि सरकारले बोर्ड गठन गर्ने र उक्त बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने व्यवस्था विधेयकमा छ ।



  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १९:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया