विनोद शाही मृत्यु प्रकरण : कुकुरसहित घटनास्थल पुग्यो सिआइबीको टोली

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान, कुच्चीका १७ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुर प्रयोग गरेको छ । 

प्रदेश प्रहरी कार्यालयले पठाएको सिआइबी टोलीले हत्या घटना अनुसन्धानमा तालिम प्राप्त कुकुरको सहायता लिएको हो । शनिबार पठाइएको सिआइबीको टोली आइतबार बिहान कुकुरसहित घटनास्थल पुगेको जनाएको छ ।

यसअघि घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तले शनिबार इलाका प्रहरी कार्यालयमा घेराबन्दी गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै हवाई फायर गरेको थियो । १० कक्षामा अध्ययनरत शाही हराएको पाँच दिनपछि शनिबार घर नजिकको जंगलमा शव भेटिएको थियो ।

चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको झडपपछि उनी बेपत्ता भएको जनाएको छ । घटनाले राजनीतिक रूप लिएको छ । मृतक युवा एमालेनिकट भएको बुझिएको छ । एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन् ।

प्रहरीले सुरज शाहीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा देवेन्द्र शाही र मंगल शाहीलाई पक्राउ गरेको छ । कृष्ण शाही, निराजन शाही, हिम्मत शाही, कमल शाही, भद्र शाही, राजेन्द्र शाही र विनोद शाही फरार भएको डीएसपी रविराज थपलियाले बताएका थिए । 

मध्यरात कांग्रेस जनप्रतिनिधिसँगको साँठगाँठमा प्रहरीले घरमा हस्तक्षेप गरेलगत्तै बेपत्ता भएका विनोदको शव शनिबार भेटिएको थियो ।





  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १३:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया