Mon, 21 Jan, 2019


'बर्फी'का भोलाकाे भरियादेखि बलिउडसम्मको यात्रा
फरकधार / पुस २५, २०७५

एउटा आम मान्छे, जो सडकमा नाटक देखाउँछ । र, उसको यात्रा सडक नाटक हुँदै बलिउडसम्म पुग्छ । साँच्चि यसरी बलिउडको यात्रा गर्ने कति होलान् ? एक दुई अथवा तीन ? तर, जे होस् अत्यन्तै कम छन् । औंलामा गन्न सकिने । त्यसैमध्येका एक हुन्, भोला सापकोटा ।

भोलाले सयभन्दा बढी नाटकमा अभिनय गरे । अभिनयमै आफूलाई तिखारिरहे । सोही शिलशिलामा उनले केमेडी ड्रामा जानराको फिल्म ‘बर्फी’ मा प्रवेश पाए । यो फिल्म सन् २०१३ मा रिलिज भएको हो । एकैसाथ बलिउड हस्ती रणवीर कपुर, प्रियंका चोपडा, इलियानासँग स्क्रिनिङ हुन पाउनु नेपाली नाट्य क्षेत्रको गौरव र प्रतिष्ठाकै विषय बन्यो त्यतिबेला ।

तीक्ष्ण लगाव र कुशल अभिनय क्षमताले बलिउडको मञ्च पाएको बताउने सापकोटा लामो समय ‘गुरूकुल’ को छत्रछायामा हुर्के । रंगकर्मी सुनील पोखरेलको छत्रछायाँमा नाट्य क्षितिज फराकिलो पारेका सापकोटा ४० कै दशकदेखि रङ्ग क्षेत्रमा सक्रिय छन् । नाटकको त्यो लतबाट उनी बाहिर निस्कन सकेनन् । सडक, कचहरी हुँदै बलिउडसम्मको बाटो छिचोल्ने सापकोटाले रणवीर र प्रियंकासँग पर्दामा देखिने सौभाग्य कसरी पाए त ? ००० भोलाको उमेरमका ४० बसन्तहरू पुराना भइसकेका छन् ।

पुख्र्यौली थलो सिन्धुपाल्चोक । हजुरबुबा मकवानपुर, हेटौंडा बसाईं सरेपछि उतै जन्मिए उनी । हजुरबुबाका पाँच सन्तानमध्ये उनका बुबा जेठा छोरा । तर, दुःखको कुरा के भने, उनका बुबा सानैबाट बोल्न जानेनन् । कहिलेकाहीँ दैबले माथिबाटै जोडी बनाएर पठाएका हुन्छन् भन्ने कुराको विश्वास लाग्छ उनलाई । बुबाले आफैंजस्तो जोडी भेट्टाए । अपांगता भएका बाआमाको सन्तान भएकाले उनको बाल्यकाल सोचेजस्तो सहज पक्कै भएन । ‘ठ्याक्कै सम्झना छैन । तर, चार–पाँच कक्षामा पढ्दा स्कुलमा सबैले जिस्काउन थाले ।

त्यही समयदेखि नै हो मैले मेरा बा–आमा यस्तो हुनुहुँदो रहेछ भन्ने थाहा पाएको’ एकाएक भोलाको अनुहारमा विस्मात देखा पर्छ र एकै छिनमा अलप हुन्छ । स्कुलमा आफूसरहको मानिसले जिस्काएको त उनलाई स्वभाविक लाग्यो । तर, घर–गाउँमा ठूला मानिस भन्नेहरूले पनि अपशब्द प्रयोग गर्थे । उमेर बढ्दै गएपछि मात्र बुझिँदो रहेछ यस्ता कुरा । अहिले मनन गर्छन् उनी ।

बुझ्ने भएपछि उनलाई बुवा अपांग हुनुहुन्छ भन्ने कुराको पिर लागेन । बुबा सुन्न र बोल्न नसकेपनि काम गर्न भने निकै बलिया थिए । प्रशस्तै जग्गा जमीन हुँदा पनि नुन तेलको जोहो गर्न साथमा नगद हुँदैनथ्यो । त्यसैको फाइदा उठाएर गाउँलेले एउटा चुरोटको खिल्ली वा एक चिम्टि सुर्तिका भरमा ठुल्ठूला भारी बोक्न लागउथे । यो कुराले भने उनको बाल मस्तिष्कमा गहिरो छाप छोड्यो । जुन आज पर्यान्त पनि मेटिएको छैन । गाउँमा हरेक पर्वमा नाटक गर्ने चलन थियो । त्यो नाटक, जुन उनले पहिलो पटक खेलेका थिए ।

त्यतिबेला उनी कक्षा चारमा पढ्थे । घरकै अगाडि गुरुङको भट्टी पसल थियो । गाउँभरिका मानिस भेटघाट र हो–हल्ला हुने ठाँउ त्यही थियो । नाटको पनि कुरा उठेको थियो । गाउँका मानिस सबैले राम्रो भनेर खुब तारिफ गरे । तर, त्यहीँका एकजनाले मदिरा पिउँदै गरेको अवस्थामा भने– ‘मेरो छोराले त नाटक खेलेको छैन । तँ लाटोको छोरा भएर किन खेलिस् ।’

यो ०४५ सालतिरको कुरा हो । त्यो कुुराले भोलालाई झनक्क रिस उठ्यो । अनि ती मानिसले पिइरहेको मदिरा मुखमा छ्यापेर भागे । त्यो एउटा विद्रोहको रूप थियो । त्यही समयदेखि फरक काम गर्नुपर्छ भन्ने धारणा राख्थे, भोलाले । र, त्यो क्रम आजसम्म पनि सिलसिलाबद्ध तरिकाले चलिरहेको छ ।

दिनेश डिसीसँगको भेट

भाेला कक्षा सातमा पढ्दै थिए । बर्खे बिदाको समय थियो । तिनताका नेपाल टेलिभिजनमा ‘ट्वाक्क टुक्क’ नामक धारावाहीक हाँस्य टेलिश्रृङ्खला प्रसारण हुन्थ्यो । उनलाई पनि त्यसकै लहड चलेछ । चाइनिज ट्र्याक्टर बालुवा लोड गरेर पाएको पैसाले खर्चको जोहो गरेका थिए । त्यही बीचमा उनी काठमाडाँै हान्निए । त्यो समयमा एक्लै काठमाडाैं आएर दिनेश डिसीलाई भेट्नु पनि चानचुने कुरा थिएन । निकै दौडधुपले डिसीसँग उनको भेट भएछ । भेट त भयो तर, भेटले खासै खुसी दिन भने सकेन ।

डिसीले उनलाई एसएलसी सकेर मात्र आउनु भनेर गाउँ नै फर्काइदिए । उनको सपनामा तुषारापात भयो । तर, पनि विचलित भएनन् उनी । फर्किएर सडक नाटक र पढाइलाई निरन्तरता दिइरहे । एसएलसीको फलामे ढोका फोरेपछि उनी फेरि छिरे काठमाडौं । राजधानी आएर राष्ट्रिय नाचघरमा नाटक सिक्न सुरु गरे । त्यसपछि बरु उनले फर्किनु परेन । झन्झन् दायरा फराकिलो बन्दै गयो ।

गुरुकुलसँगको यात्रा

भोलाका समकालीनहरू यतिबेला कोही चर्चाको शिखर चुम्दै छन्, त कोही नाम र दामले सम्पन्न बन्दै गए । तर, उनको भने  यही क्षेत्रमा इमानदार भएर काम गर्ने बाहेक अर्को कुनै चाहना छैन । गुरुकुलको नाटक सिकाई अरुभन्दा भिन्न थियो । कुशल नाट्यकर्मी भएर नाटकमा चरित्र निर्वाह गर्नका लागि वास्तविक जीवनबाट नै पाठ सिक्नु पर्छ भन्ने मान्यता राख्थे, सुनिल पोखरेल ।

उनैको स्कुलिङबाट सापकोटाले आफ्नो शिल्प–शैलीलाई माझे । नाटक सिक्दाको एउटा घटना अझै पनि उनी सम्झिरहन्छन् । भरिया बनेर दरबारमार्गस्थित बेकरी क्याफेमा गएर खाजा खानुपर्ने भयो । साथमा थिए कमलमणी नेपाल । दुवैजना गए । खासै कसैले पनि चिनेनन् । भरीया नै सोचे । तर, पाले दाइले क्याफेमा प्रवेश गर्न दिएनन् । उनीहरूले पनि खुब जोसले हामीसँग पनि पैसा छ भनेर देखाएपछि भने भित्र जान पाए । भित्र गएर अगाडि बस्न पाएनन् । पछाडि नै बसे ।

उनीहरूलाई हेरेर क्याफेमा भएका अरु मानिस बाहिर निस्कन थाले । कतिपयले भरियालाइ पनि भित्र पस्न दिने ? यस्तोमा त हामी बस्दैनांैसम्म भन्न भ्याए । उनीहरूको गतिविधि नियाल्न सुनिल पोखरेल लगायत सोही क्याफेमा बसेका थिए । अपरिचित रूपमा सबै बाहिरिए । समाजमा एउटा भरियाको जीवन कस्तो रहेछ भनेर नजिकबाट नियाल्ने मौका पाए । यसरी नै उनी पोख्त बन्दै गए ।

बलिउडको यात्रा

भाेला गुरुकुलमा काम गर्दै थिए । आफ्नै घर मानेर बसेका थिए त्यहाँ । गुरुकुलमा नाटक हेर्न आइरहनेमध्ये एक थिए प्रशान्त रसाइली । उनले शर्ट मुभी बनाइरहन्थे । सापकोटाले पनि एक दुईवटामा खेल्ने मौका पाएका थिए । गुरुकुलका सहकमी मिलेर बेलाबखत रमाइलो गरिरहन्थे । फोन गरेर एकले अर्कालाई हिन्दी फिल्ममा खेल्ने अवसर आएको र अडिसन दिन फलानो ठाउँमा जानुपर्ने भनेर हाँसो गर्थे । नभन्दै एकदिन प्रशान्तले फोन गरेर यस्तै कुरा बताए । सुरुमा त भोलालाई प्रशान्तको कुरा पत्याउन निकै गाह्रो पर्यो । केही दिनपछि उनले फेरि सिक्किमबाट फोन गरे । अडिसन दिनु पर्ने र छानिनु पर्ने समेत बताए । त्यसबेला चाहिँ बल्ल भने होकि जस्तो लाग्यो । अडिसनका लागि कोलकत्ता जानु पर्ने भयो । उनी गए पनि ।

अन्तर्वार्ता लिने अनुराग बासु थिए । अरुलाई भने उनले चिनेनन् । पास भयो भने खबर गर्छु भन्ने कुरा भयो । उनी त्यहाँबाट हेटौंडा आए । दश दिन बित्यो फोन आएन । पन्ध्र दिन भयो अझै फोन आएन । उनले आस गरेनन्, खर्चको पनि माया मारिदिए । तर, बीस दिनका दिन फोनबाट फेरि अडिसन दिनु पर्ने खबर आइपुग्यो भोलालाई । जसोतसो उनले खर्चको व्यवस्था गरे । र, फेरि हान्निए मुम्बइ । त्यहाँ पुगेर चिनेको साथीसँग बसे । मुम्बइ गएको तीन दिनमा तेश्रो अडिसन भयो । स्क्रिन टेस्ट भयो । त्यसपछि अन्तिम अडिसनका लागि कपाल काट्न पर्ने बताए र फिल्मका निम्ति भनेर वर्षौंदेखि पालेको कपाल समेत काटे । त्यतिबेला भने निकै भावुक भए उनी ।

फिल्ममा नायिका नै चिनेनन्

मुम्बइ गएको चौंथो दिनबाट सिधै सुटिङमा लिएर गए भोलालाई । सबैजना अपरिचित नै थिए । ‘बर्फी’ फिल्मको सुटिङ थियो भन्ने थाहा पाए । रणवीर कपुर र प्रियंका चोपडासँग अभिनय गर्न पाउनु साँच्चै सौभाग्यको कुरा थियो । फिल्ममा रणवीरका साथी भएर भूमिका निर्वाह गरेका थिए । प्रियंका सुन्न र बोल्न नसक्ने थिइन् । जम्मा छ दिन सुटिङ भयो र उनी काठमाडाैं फर्किए । ‘रमाइलो कुरा के भयो भने, सुटिङ सकिएर छुट्टिने बेलामा बल्ल फिल्ममा प्रियंका चोपडा पनि भएको र सँगै अभिनय पनि गरेको कुरा मैले थाहा पाएँ’ त्यो समय सम्झँदै हाँस्छन् उनी । त्यहाँ काम गर्दा कामप्रति इमान्दार हुनु पर्ने र भारतीय कलाकारमा त्यो गुण भएको पनि उनले पाए ।

चलेको छ जीवन

आम मानिसको जिज्ञासा हुन सक्छ नाटकबाट जीवन चलाउन सजिलो छ ? सापकोटाको सपाट जवाफ छ– ‘अहिले सम्म चलेकै छ ।’ आम्दानीको भरपर्दो र नियमित श्रोत छैन उनको । तरपनि, खान लाउन नपुगेर यस क्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था पनि आइहालेको छैन । संघर्ष गर्नेका लागि अझै पनि प्रशस्त सम्भावना रहेको बताउँछन्, भोला सापकोटा । नाटक बाहेक चलचित्रमा पनि आक्कल–झुक्कल देखा पर्छन् उनी । यद्यपि चलचित्रतिर पूर्ण रुपमा लागेका भने छैनन् । उनी आफूलाई सगर्व रंगकर्मी नै भन्न रुचाउँछन् ।

आम मानिसले सामान्य र निकम्मा लागेको विषयमा नाटकको धुकधुकी रहने सापकोटाको बुझाइ छ । बरु त्यसलाई कति कला भर्ने भन्ने कुरा कलाकारमा भर पर्छ । कुनैबेला नाटक नै जिन्दगी जस्तो लाग्ने उनलाई कुनैबेला चाहिँ जिन्दगी नाटक जस्तै लाग्दो रहेछ । सापकोटा कहिलेकाहीँ विगतलाई पनि फर्केर हेर्छन् । हिँडेको बाटो बिर्सनु हुन्न भन्ने उनको मान्यता छ । गाउँमा छँदा जोजो बाधा बनेर उनीसामु आए, तिनलाई सापकोटा अहिले पनि क्रमैसँग सम्झन्छन् ।

बैगुनीलाई गुनले मारेको महसुस हुन्छ

शहरमा अहिले अनुवादित नाटक मन्चन भइरहेका छन् । यो क्रम दिनप्रतिदिन बढ्दो छ । यही सेरोफेरोमा भोलाले भने नाटक लेख्ने व्यक्तिको नै खाँचो देख्छन् । नाटक देखाउने फेशन चलिरहेको भान हुन्छ उनलाई । तर, नाटक देखाउनका लागि गर्ने हो या मनैदेखि गर्ने भन्ने कुरामा नाटकघर दुविधामा रहेको उनको ठम्याइ छ । ‘नाटकलाई गुरुकुलले जुन स्थानमा पुर्याएको थियो अरु नाटकघरले त्यहाँ टिकाइराख्न सकेनन्’ भन्छन् भोला । उनलाई लाग्छ, नाटकले समाजको चरित्र चित्रण गर्छ । समाजको विकृति बेथितिमाथि खबरदारी गर्छ । अनि, खबरदारी गर्ने निकाय नै इमान्दार नभए नाटक सफल नहुने उनको तर्क छ ।



यो पनि नछुटाउनुहोस्