कर्णाली प्रदेश राजधानीकै विद्यालयमा पुगेनन् किताब

अमरज्योति नमुना माध्यामले विद्यालय नेवारे सुर्खेतमा कक्षा एकदेखि पाँचसम्म दुई सय विद्यार्थी छन् । उक्त कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि करिब ६० प्रतिशत किताब आइपुगेका छन् । केही विद्यार्थीले किताब प्राप्त गरे पनि सबै विषय भने प्राप्त गर्न सकेका छैनन् । 

कक्षा छ, सात र आठ मा ६ सय विद्यार्थी छन् । तीनवटै कक्षाका दुई–दुईवटा मात्रै किताब आइपुगेका छन् । कक्षा नौका लागि कुनै पनि किताब नआए पनि कक्षा दशका भने चारवटा किताब आइपुगेको विद्यालयका प्राध्यापक खगेन्द्र थापाले जानकारी दिए । कक्षा नौका चार सय र कक्षा दशका चार सय गरी विद्यालयमा जम्मा १ हजार ६ सय विद्यार्थी पठनपाठन गर्छन् । 

तर, सबै विद्यार्थीलाई पुग्नेगरी किताब भने अझै पनि आउन सकेका छैनन् । जसका कारण विद्यार्थी र शिक्षकसमेत पठनपाठनका लागि अलमलमै छन् । 
उसो त, विद्यालयले १० जेठदेखि नै पठनपाठन सुरु गरिसकेको छ । किताब आइनपुगे पनि पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गरिरहेको प्राध्यापक थापाले बताए । 

‘कक्षा नौका किताबहरू अझै पनि छापिएका छैनन् रे’ विद्यालयका प्राध्यापक थापाले भने, 'किताब नभए पनि हामीसँग पाठ्यक्रम भएकोले सोहीअनुसार पठनपाठन अगाडि बढाएका छौं ।' तर, किताब भएजस्तो पठनपाठन सहज तरिकाले अगाडि बढाउन नसकिएको उनले बताए । 

सोही विद्यालयमा अध्ययनरत कक्षा दशका विद्यार्थी हरि चुनाराले समयमै पुस्तक नपाउँदा पढाइलाई अगाडि बढाउन समस्या भएको बताए । उनले शिक्षाक्षेत्रमा राज्य नै गम्भीर नहुँदा समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने तर्क गरे । 

‘समयमै पुस्तक आए परीक्षाका तयारी राम्रो गर्न सकिन्थ्यो’ उनले भने 'पुस्तक कहिले आउँछन् टुङ्गो छैन । अनि कसरी विद्यार्थीको गुणस्तर वृद्धि हुन्छ ?' उनले कोरोना भाइरसको महामारी आयो भने विद्यालयसमेत बन्द हुन्छ कि भन्ने त्रासमा आफूहरू रहेको सुनाए । 



श्री कृष्ण संस्कृत माध्यमिक विद्यालय इत्राम सुर्खेतमा समेत १२ सय विद्यार्थी छन् । तर, उक्त विद्यालयका विद्यार्थीले समेत सबै किताब प्राप्त गर्न सकेका छैनन् । समयमै किताब नआउँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्राध्यापक यामलाल घिमिरेले बताए । 



‘कुनै विषय आउने कुनै विषय नआउने त नहुनुपर्ने,’ उनले भने, 'यो पुस्तक पसलको बदमासी पनि होला । तर, अर्डर गरेअनुसार पुस्तक पसलले किताब नपाएका पनि हुनसक्छन् ।'

उनले पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना किताब पढाउने गरेको भए पनि पाठ्यक्रम फेरिएका कक्षामा भने समस्या भएको बताए । 

कर्णाली प्रदेशमा हरेक वर्षजसो समयमै विद्यार्थीका हातमा किताब पुग्दैनन् । हरेक वर्ष कर्णालीका विकट जिल्लामा किताब नपुगेको विद्यार्थीले गुनासो गर्छन् । यसपटक त राजधानीकै नगरपालिकाका विद्यार्थीले जेठ महिना गुर्जिसक्दासमेत किताब हात पार्न सकेका छैनन् ।

कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई स्थानीय तहले नै सांस्कृतिक, भौगोलिक, आर्थिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय, स्वास्थ्य, वातावरणीय लगायतका विषय समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ । तर, वीरेन्द्रनगर नगरपालिकामा भने हालसम्म पाठ्यक्रम लेखन प्रक्रियामै रहेको छ । 

कर्णाली प्रदेशको राजधानीकै नगरको विद्यार्थीको हालत त यस्तो छ भने विकट जिल्लामा बसेर पठनपाठन गर्ने विद्यार्थीको सहजै अनुमान गर्न सकिन्छ ।

  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार २०:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया