रामबहादुर बम्जनको आश्रमबाट ‘महात्मा गुरु’ नियन्त्रणमा

सिन्धुली– बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।     

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । उनले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताए । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन । 

यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप भिरपानी घर भएका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछ पछि स्थलगत अवलोकन गरेको थियो । 

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उनका अनुयायीले बताएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहेकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए । 

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो । बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित बनेको छ । 

सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरे पनि कुनै पनि जानकारी दिएको छैन । बम्जन आश्रममा पुगेका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताए ।



‘हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौँ,’ उनले भने । 
 



  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १५:५८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया