जनकपुरधाम उपमहानगर : मेयर साहलाई आफ्नै प्रतिबद्धता पूरा गर्न चुनौती

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा गर्ने काम भन्दै मनोजकुमार साहले सार्वजनिक गरेका २१ बुँदे प्रतिबद्धता पत्रको पहिलो बुँदामै ‘हाम्रो जनकपुरधामः राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने दाबी गरेका थिए ।
 
गत वैशाख २१ गते पत्रकार सम्मेलनको आयोजना गर्दै मनोजले नगरलाई सुन्दर, आकर्षक र समृद्ध बनाउने संकल्पका साथ जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा आफूले उम्मेदवारी दिएको बताएका थिए । 

प्रतिबद्धता–पत्रमा उनले जनकपुरधाम उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने, फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषिकार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकताअनुसार सामुदायिक संस्था एवं निजीक्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याइने उल्लेख गरेका थिए । 

मनोजले जनकपुरधाम उपमहागरपालिकाका प्रत्येक वडामा यथासम्भव हुनेगरी सुरक्षित एवं साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोर मैला ल्यान्डफिल साइटसम्म पुर्याउने व्यवस्था गराइने, सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको मर्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिनेलगायतका बुँदाहरु आफ्नो प्रतिबद्धता–पत्रमा समावेश गरेका थिए । 

साथै ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक धरोहरहरूका विषयमा खोजीनीति, अध्ययन अनुसन्धान तथा तिनका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाह गरी जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका बाह्रविग्घा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने बुँदा पनि उनको प्रतिबद्धता–पत्रमा समेटिएको थियो । 

त्यस्तै, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण मार्फत रमणीय ठाउँका रूपमा विकास गरिने, उपमहानगर क्षेत्रभित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाउँमा चौबिसौं घन्टा काम गर्नेगरी सिसिटीभी क्यामरा जडान गराइने तथा सबै वडालाई फ्री इन्टरनेट वाइफाइ क्षेत्र बनाइने मनोजको प्रतिबद्धता–पत्रमा उल्लेख थियो । 

जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बद्ध निकायहरूसँग गम्भीर समन्वय गरिने तथा पर्यटकीय सहर वा क्षेत्रसँग जोड्न विमानसेवा सञ्चालन गराउन पहल गरिने, उपमहानगलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता पनि उनले जनाएका थिए । 



उपमहानगरकाको कामकाज पारदर्शी बनाउन उपमहानगरपालिकाद्वारा गरिने कामबारे नियमित जानकारी प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई उपमहानगरपालिका र मातहतका कार्यालयमा प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा सरलता एवं सहजता ल्याइनुका साथै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गरिने उनले बताएका थिए । 

जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने उनको प्रतिबद्धता थियो । 



उपमहानगरपालिका क्षेत्रभित्र रहेका ग्रामीण वडाहरूमा किसानलाई कृषिउपज बढाउनका लागि आवश्यक मलखाद, बिउबिजन, सिँचाइ सेवा, कृषिउपकरण र कृषिउपजको बजार व्यवस्थापन गरिने तथा कृषकका लागि चाहिने प्रविधिजन्य ज्ञान विस्तारका लागि कार्यक्रम ल्याइने, आधुनिक फलमन्डी (फलबजार) निर्माण गराई फलफूलको व्यापार प्रवर्द्धन गरिने तथा फल व्यावसायीका लागि फलफूल आयातमा विशेष सहुलियतको व्यवस्था गरिनेलगायतका प्रतिबद्धताहरु उनले जनाएका थिए ।
 
मनोजले अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, २५ वटै वडासम्म सडक सञ्जाल तयार पारी सार्वजनिक परिवहनको व्यवस्था गरिने, उपमहानगरपालिकाभित्र अत्याधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गरिने, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका २५ वटै वडामा सुलभ शौचालय निर्माण गरिने, सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू ल्याइनुका साथै स्वास्थ्य संस्थाहरूको गुणात्मक तथा संरचनात्मक विकास गरिने कुरामाथि आफ्नो जोड रहने दाबी गरेका थिए ।

उनका ती प्रतिबद्धताहरुमाथि विश्वास गर्दै जनकपुरधामका जनताले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत उनलाई जनकपुरधामको नगरप्रमुखमा निर्वाचित गरे । 
जेठ ९ गते आएको मतपरिणामअनुसार मनोजले पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच वर्षपछि ‘पासा पल्टाएर’ आफ्नो झोलीमा हाल्न सफल भए । 

०७४ सालको स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिस्पर्धी भएर १० हजार ७३९ मतको अन्तरले हार व्यहोरेका मनोजले यसपटकको निर्वाचनमा आफूलाई हराउने गठबन्धनका लालकिशोरलाई ८ हजार २७१ मतान्तरले हराए । 

मनोजले १३ हजार ४६५ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ ,लोसपाका मनोज चौधरीले ५ हजार ३६० तथा गठबन्धनका लालकिशोर भने ५ हजार १९४ मत ल्याएर चौथो स्थानमा धकेलिए ।

जेठ १० गते धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित मेयर तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिए । मनोज साहले पनि सोही दिन शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने निर्णयसमेत गरे । उनले जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने पहिलो निर्णय गरे ।

उपमहानगरभित्र हाल सरसफाइको कार्य नगरकार्यपालिकाको कार्यालयद्वारा भइरहेकोमा अबउप्रान्त नगरका सबै वडामा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने नगरप्रमुख साहले निर्णय गरेका थिए । 

फोहोर व्यवस्थापनका लागि उपमहानगरका सबै वडा कार्यालयलाई टयाक्टर र सरसफाइ कर्मचारी उपलब्ध गराइने निर्णय नगरप्रमुख साहले गरेका थिए । उनले पदभार ग्रहण गरेको करिव १५ दिन बितिसकेको छ । तर, यस १५ दिनको अवधिमा नगरभित्र जनताले प्रत्यक्ष देख्ने काम एउटा पनि गर्न नसकेको आरोप लागेको छ । 

यस उपमहानगरपालिकामा २५ वटा वडा रहेका छन् । जसमध्ये ११ वडामा कांग्रेस, ७ वडामा नेकपा एमाले, २ वडामा स्वतन्त्र, २ वडामा लोसपा नेपाल, १ वडामा नेकपा माओवादी केन्द्र, १ वडामा तमलोपाका र १ वडामा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १७:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया